कालिकोट। कर्णाली करिडोरअन्तर्गत कालिकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल नहुँदा वर्षायाममा यात्रुहरू दैनिक सास्ती बेहोर्न बाध्य छन् ।
२०७७ सालको असारमा आएको बाढीले नेपाली सेनाले बनाएको झोलुङ्गे र फलामे बेलिब्रिज दुवै बगाएपछि अहिलेसम्म नयाँ पुल निर्माण हुन सकेको छैन ।
सुख्खा मौसममा गाडी र पैदल यात्रुहरूलाई खोलो पार गर्न खासै समस्या नपरे पनि वर्षा लागेपछि खोलो तर्न असम्भवजस्तै हुने गरेको छ । खोलोमा पानी बढेपछि साना सवारीसाधनहरू दुबै किनारमै थन्किन्छन्, भने पैदल यात्रुले तीन घण्टासम्मको उकालो–ओरालो गर्दै फुकोटको झोलुङ्गे पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता हुन्छ ।
पचालझरना–४ की सुमित्रा बम भन्छिन्, “पानी बढेपछि खोलो तर्नै सकिन्न, पैदल हिँड्न पनि जोखिम हुन्छ, त्यसैले घुमेर जानुपर्छ ।”
कांग्रेस नेतृ दिलु बमका अनुसार, गत वर्ष मात्रै फुगाड खोलाले तीन वटा मोटरसाइकल बगाएको थियो । पछिल्ला तीन वर्षमा यही खोलाले चार जना स्थानीय बगाएर बेपत्ता बनाइसकेको छ ।
जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत विकले आफू पनि खोलो तर्न नसकेर सदरमुकाम फर्किनुपरेको अनुभव सुनाइन् । उनले भनिन्, “सरकारले हुम्लासम्म गाडी पुग्यो भनेर प्रचार गर्छ, तर कालिकोटको खोलोमा वर्षा लागेपछि सडक बन्द हुन्छ ।”
फुगाड खोलासहित कालिकोटका नौ वटा पुलको निर्माणका लागि २०७९ सालको असारमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीका अनुसार फुगाड खोलाको पुल डिजाईन अझै सडक विभागबाट स्वीकृत नभएकाले काम अगाडि बढ्न सकेको छैन ।
यसैबीच, बुधबार स्थानीयवासीहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेटेर फुगाड खोलाको समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् ।
स्थानीय अगुवा राजु बोगटीले भने, “खोलो पार गर्न नसकेर तीन–चार घण्टा घुम्नुपर्छ, त्यसैले तत्काल झोलुङ्गे पुल बनाइनु आवश्यक छ ।”
प्रजिअ भट्टराईले हुम्ला र बाजुरा सडक डिभिजन प्रमुखहरूलाई जानकारी गराइसकेको उल्लेख गर्दै, सडक विभागका महानिर्देशकसँग समन्वय गरी समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन् ।