काठमाडौँ। बलिउड अभिनेता आमिर खानको हालै रिलिज भएको फिल्म सितारे जमीन पर ले दर्शकको मन जित्दै बक्स अफिसमा उल्लेखनीय सफलता हात पारेको छ।
फिल्मले रिलिज भएको १८ दिनमै भारतमा १५० करोड भारूको कारोबार पार गरिसकेको छ र अब २०० करोड क्लबतर्फ तीव्र गतिमा अघि बढिरहेको छ।
फिल्मको सफलतापछि आमिर खान अब आफ्नो बहुप्रतीक्षित नयाँ प्रोजेक्टतर्फ लागेका छन्। तर, यो प्रोजेक्ट कुनै साधारण फिल्म होइन, महाभारतको कथामा आधारित फिल्महरूको एक शृङ्खला हुनेछ। हालै इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा आमिरले उक्त जानकारी दिएका हुन्।
आमिरका अनुसार, “म अगस्टदेखि महाभारतमा काम सुरु गर्दैछु। यो कुनै एक फिल्म होइन, पूर्ण शृङ्खला हुनेछ। किनकि महाभारतजस्तो गहन र विशाल कथालाई एउटै फिल्ममा समेट्न सकिँदैन।” उनले यस परियोजनालाई ‘आफ्नो रगतमा बगेको कथा’ भन्दै विशेष जोड दिएका छन्।
सबैभन्दा रोचक कुरा के छ भने, आमिर खान यसपटक फिल्ममा स्वयं कुनै भूमिका निर्वाह गर्ने छैनन्। अर्जुन वा कृष्णको पात्र खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, “म परिचित अनुहारहरू होइन, नयाँ कलाकारहरूमार्फत पात्रहरूलाई प्रस्तुत गर्न चाहन्छु। पात्रहरू नै स्टार हुनेछन्।”
सितारे जमीन पर मा आमिरसँगै जेनेलिया डिसूजा र १० जना नयाँ कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। यसले पनि आमिरको नयाँ प्रतिभा प्रवर्द्धन गर्ने सोच झल्काउँछ, जुन अब महाभारत शृङ्खलामार्फत अझै फराकिलो रूपमा देखिनेछ।
आमिर खानका प्रशंसकहरूका लागि यो परियोजना निकै रोमाञ्चक हुनसक्छ, किनकि उनले यसपटक कथा र प्रस्तुति दुबैमा गहिरो अनुसन्धान र सशक्त निर्माणको संकेत दिएका छन्।