सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतले जिल्लामा हरित विकास र पर्यटन पूर्वाधार विस्तारमा जोड दिएको छ।
वातावरणीय सन्तुलन कायम गर्न र जिल्लालाई पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यसहित कार्यालयले विभिन्न हरित कार्यक्रम सञ्चालन गरेको हो।
डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठका अनुसार जिल्लाका वीरेन्द्रनगर, भेरीगंगाको छिन्चु, लेकवेशीको दशरथपुर र सिम्ता गरी चार स्थानमा स्थायी नर्सरी स्थापना गरिएको छ। ती नर्सरीमा काष्ठ, गैरकाष्ठ र सौन्दर्यमूलक गरी ७८ हजार ४ सयभन्दा बढी बिरुवा उत्पादन गरिएको छ।
‘यी बिरुवा सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि र वन क्षेत्रको पुनर्संरचनाका लागि प्रयोग गरिनेछन्,’ श्रेष्ठले जानकारी दिए। उनका अनुसार रिठा, खयर, सिसौ, हर्रो, बर्रो लगायतका प्रजाति नाङ्गा डाँडामा रोपिनेछन् भने गुलमोहर, वीरेन्द्रफुल र कल्किफुलजस्ता सजावटी बिरुवा सडक किनार र सार्वजनिक स्थलमा लगाइनेछन्। नर्सरी र बिरुवा व्यवस्थापनमा मात्र प्रदेश सरकारले १७ लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी, कार्यालयले पर्यटकीय पूर्वाधार निर्माणमा समेत महत्त्वपूर्ण लगानी गरेको छ। मुख्यमन्त्री निवास दक्षिणतर्फ २९ लाख ११ हजार रुपैयाँको लागतमा ‘सीएम पार्क’ निर्माण गरिएको छ। यस पार्कमा आफ्नै नर्सरीमा उत्पादित बिरुवाहरू रोपिएका छन्।
त्यस्तै, सुर्खेतको प्रमुख धार्मिक स्थल गंगामाला देउती बजै मन्दिरको पूर्वाधार सुधारका लागि पर्खाल निर्माण र मार्बल बिछ्याउने काममा ३६ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको छ।
यसरी, डिभिजन वन कार्यालय सुर्खेतले चालु वर्षमा १५ वटा कार्यक्रम सञ्चालन गरी हरियाली विस्तार र पर्यटकीय विकासमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।