कालिकोट। युवाबीच बढ्दो लागुऔषध दुर्व्यसन रोकथामका लागि कालिकोटका माध्यमिक विद्यालयहरूमा सामुदायिक सचेतना अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।
सामाजिक विकास कार्यालय र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा सान्नीत्रिवेणी–१ स्थित शंकर माविमा र खाँडाचक्र–५ स्थित चुलीमालिका माविमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, कानुन व्यवसायी, शिक्षक, अभिभावक र विद्यार्थीहरू सहभागी कार्यक्रममा लागुऔषधको पहुँच सडक विस्तारसँगै गाउँसम्म पुगेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरे।
अधिवक्ता सरिता विश्वकर्माका अनुसार, मायाको अभावमा रहेका किशोरकिशोरीहरू दुर्व्यसनमा फसिरहेका छन्, र ओसारपसारमा मेडिकल स्टोर र यातायातको प्रयोग बढी भएको पाइन्छ। उनले कानुनअनुसार सेवनकर्तालाई १ महिनादेखि ५ वर्ष र बिक्रीकर्तालाई १ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था रहेको जानकारी दिइन्।
गैरसरकारी संस्था महासंघका सचिव रमेश नेपालीले १५ देखि ३५ वर्ष उमेरका युवा बढी प्रभावित रहेको भन्दै उनीहरूका लागि शिक्षा र सीप विकास कार्यक्रम आवश्यक रहेको बताए।
विद्यालय केन्द्रित अन्तर्क्रिया विद्यार्थी, शिक्षक र अभिभावकलाई सँगै जोडेर चलाइएकोले प्रभावकारी भएको सामाजिक विकास कार्यालय प्रमुख रछाने लोहारको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीय तहमा कार्ययोजना बनाएर अभियान विस्तार गर्नुपर्ने सुझाव दिए। प्रहरी प्रमुख टेकबहादुर रावतले नेपालभर २ लाख ३४ हजार दुर्व्यसनी रहेको र कालिकोटमा एक वर्षमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको बताए।
यस अभियान अन्तर्गत, कालिकोटका ९ वटै स्थानीय तहका ५९ विद्यालयमा अन्तर्क्रिया, र्याली र सडक नाटकजस्ता चेतनामूलक कार्यक्रम सञ्चालन भएको प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी गराए।