सल्यान। बाग्चौर नगरपालिका–२ मा निर्माणाधीन लाटिगार–बाग्चौर लिफ्ट खानेपानी योजना गुणस्तरहीन पाइएपछि निर्माण कार्य रोकिएको छ।
५ लाख रुपैयाँ बजेटमा बाग्चौर नगरपालिकाले अगाडि बढाएको योजनाको ठेक्का लस्तम सप्लायर्स एण्ड कम्पनी लाई दिइएको थियो। तर, निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठेपछि तत्काल काम रोकिएको हो।
पालिका उपप्रमुख सुम्निमा डिसी र वडाध्यक्ष दिपेश डिसी सहितको टोलीले योजनास्थलमा अनुगमन गर्दा, जिआई पाइप जडानका लागि बनाइएका सिमेन्टेड पिलरहरू कमजोर र फुसिला भेटिए। वडाध्यक्ष डिसीका अनुसार, “हातले धकेल्दा नै ढल्ने अवस्थामा देखिएपछि केही पिलर भत्काइसकिएको छ, बाँकी निर्माण कार्य स्थगन गरिएको छ।”
पहिला वन डढेलोले जलेका प्लास्टिक पाइपहरूलाई प्रतिस्थापन गर्न जिआई पाइप र इन्टेक निर्माण थालिएको भए पनि, स्थानीय खोलाको माटो मिसिएको बालुवा र कम सिमेन्ट प्रयोग गरिएकाले पिलरहरू कमजोर बनेको देखिएको छ।
वडा प्राविधिक सचिन पुन भन्छन्, “निर्माण कम्पनीले प्राविधिकसँग समन्वय नगरी मनोमानीपूर्वक काम गरेको पाइयो। कोटेसनबाट सञ्चालित योजनामा जनताको आँखा छलेर निर्माण गरिएको थियो।”
योजना अन्तर्गत बाग्चौर बजारका बासिन्दालाई तीनवटा मुहानबाट एउटै इन्टेकमा पानी ल्याइ खानेपानी आपूर्ति गर्ने लक्ष्य राखिएको थियो। तर, निर्माण कम्पनीको लापरवाहीले योजना नै संकटमा परेको स्थानीयको भनाइ छ।
नगरपालिकाले अब निर्माण कम्पनीसँग स्पष्टीकरण माग्ने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।