जुम्ला। जुम्ला जिल्लाको खलंगास्थित ऐतिहासिक चन्दननाथ मन्दिरमा बिहीबार दिउँसो दानपेटिकाबाट नगद चोरी भएको घटना सार्वजनिक भएको छ।
सीसीटीभी फुटेजअनुसार, दिउँसो २:४० बजे एक अज्ञात व्यक्ति मन्दिरभित्र प्रवेश गरी रडको प्रयोग गरेर दानपेटिका फोरेर भेटी स्वरूपको नगद रकम चोरेको स्पष्ट देखिन्छ।
चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नचन्द्र आचार्यले चोरी गर्ने व्यक्तिले मास्क नलगाएको र लामो कपाल पालेको विवरण फुटेजमा देखिएको जानकारी दिए। उनले भने, “मन्दिरजस्तो पवित्र स्थलमा दिउँसै चोरी हुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय हो।”
उनका अनुसार दानपेटिकामा भक्तजनले चढाएका एक हजार र पाँच सयका नोटहरू बाहिरबाटै देखिने अवस्थामा थिए। घटनाबारे औपचारिक जानकारी नआए पनि जिल्ला प्रहरी कार्यालय, जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले मन्दिरको सुरक्षा कडाइ गरिएको बताए।
हाल मन्दिर क्षेत्रमा एक प्रहरी हवलदारको नेतृत्वमा चार जनाको टोली खटिएको छ। मन्दिरमा प्रवेश गर्ने सबै व्यक्तिमाथि निगरानी बढाइएको छ।
स्थानीयवासीहरूले दिउँसै मन्दिरभित्र चोरी हुनु सुरक्षाको कमजोरी भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गुठी समितिले पनि मन्दिरको गरिमा र धार्मिक आस्थामा आँच पुग्ने गरी भइरहेको यस्ता घटनाले तत्काल सशक्त सुरक्षा व्यवस्था आवश्यक रहेको धारणा राखेको छ।
यसअघि पनि २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरबाट केही ऐतिहासिक मूर्तिहरू चोरी भएका थिए, जसमा अझै तीनवटा मूर्ति फेला परेको छैनन्।