सुर्खेत । वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच स्थानीय सेवा प्रवाह र विकासका विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चार वर्षे सम्झौता भएको छ । विश्वविद्यालयको १५औँ वार्षिकोत्सवको अवसरमा नगर प्रमुख मोहनमाया ढकाल र उपकुलपति प्राडा ध्रुवकुमार गौतमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, वैकल्पिक ऊर्जा प्रवर्द्धन, वातावरणीय सुधार, सामाजिक जनचेतना, तालिम तथा गोष्ठी आयोजनालगायतका कार्यक्रमहरूमा दुवै पक्षले सहकार्य गर्नेछन् । नगरप्रमुख ढकालका अनुसार स्थानीयस्तरमा अध्ययन, विश्लेषण र अनुसन्धानलाई प्रोत्साहन गर्दै नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
“नगरबासीका आवश्यकता र चाहनाको परिपूर्ति गर्न दीर्घकालीन र संस्थागत सहकार्य आवश्यक छ,” उनले भनिन्, “सामाजिक कार्य, विकास निर्माण र सुशासनमा विश्वविद्यालयको ज्ञान र क्षमताको प्रयोगमार्फत स्थानीय विकासलाई टेवा दिनेछौं ।”
सम्झौतामा भौतिक पूर्वाधार विकास, मानव स्रोत, सूचना तथा तथ्याङ्क, पुस्तकालय र बौद्धिक सम्पत्तिको साझेदारी तथा आदानप्रदान, वर्गीकृत समुदायका लागि छात्रवृत्ति, स्थानीय ज्ञान, सीप र संस्कृतिको संरक्षण र प्रवर्द्धन लगायतका विषय समावेश छन् ।
सहमति चार वर्षका लागि प्रभावकारी रहनेछ भने आवश्यक परे पुनः नवीकरण गर्न सकिने पनि उल्लेख गरिएको छ। सम्झौतामार्फत नगर र विश्वविद्यालयबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ। स्थानीय विकास र शैक्षिक अनुसन्धानको सशक्त संयोजनले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।