काठमाडौं- दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘द राजा साब’ को टीजर सार्वजनिक गरिएको छ।
टीजर सार्वजनिक भएसँगै फिल्मले दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो ध्यान तानेको छ। निर्देशक मारुति द्वारा निर्देशित यो फिल्ममा रोमाञ्च, हास्य र डरको अनौठो मिश्रण देखाइएको छ।
टीजरमा प्रभासलाई पहिले देखिएको गम्भीर भूमिकाबाट हटेर हल्का–फुल्का र रमाइलो पात्रको रूपमा प्रस्तुत गरिएको छ। उनी निधि अग्रवालसँग प्रेम सम्बन्धमा रहेका पात्रका रूपमा देखिन्छन्। तर कथा त्यतिमा सीमित हुँदैन। उनी एउटा पुरानो, रहस्यमय हवेलीमा पुग्छन्, जहाँ भयावह भूतप्रेत र अलौकिक घटनाहरूको श्रृंखला सुरु हुन्छ।
यसले दर्शकलाई बलिउडका चर्चित डर र हास्य मिसिएको फिल्म ‘भूल भुलैया’ वा दक्षिण भारतीय फिल्म ‘चन्द्रमुखी’ को सम्झना गराउँछ।
फिल्म निर्माणका लागि ४१,२५६ वर्ग फिट क्षेत्रफलमा भव्य हवेलीको सेट निर्माण गरिएको छ। जुन भारतको सबैभन्दा ठूलो इनडोर फिल्म सेट मानिएको छ। यो सेट बनाउन १२०० भन्दा बढी श्रमिकले करिब चार महिनासम्म खटेर निर्माण सम्पन्न गरेका थिए।
फिल्मको क्लाइमेक्स मात्र ४० मिनेट लामो छ। जसमा ३०० दिनभन्दा बढी समय VFX कार्यमा खर्च गरिएको बताइएको छ। टीजरमा प्रयोग गरिएका भिजुअल इफेक्ट्सले दर्शकलाई आश्चर्यचकित बनाएको छ, यद्यपि केहीले यसको गुणस्तरमा अझ सुधारको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन्।
फिल्ममा प्रभाससँगै बलिउड अभिनेता सञ्जय दत्त, अभिनेत्री मलविका मोहनन, निधि अग्रवाल र रिद्धि कुमार मुख्य भूमिकामा छन्। फिल्मको संगीत थमन एस ले दिएका छन्, जसले डर र रमाइलोबीचको सन्तुलनलाई संगीतमार्फत थप प्रभावशाली बनाएका छन्।
टीजर सार्वजनिक भएसँगै प्रभासका प्रशंसकहरूले उनको नयाँ अवतारको खुलेर प्रशंसा गरेका छन्। धेरै दर्शकले यसलाई ‘विन्टेज प्रभास’ को पुनरागमनको रूपमा व्याख्या गरेका छन्। टीजरले प्रभासलाई एकपटक फेरि नयाँ शैलीमा हेर्ने अवसर दिएको भन्दै प्रशंसा भइरहेको छ।
फिल्म ‘द राजा साब’ आगामी ५ डिसेम्बर २०२५ मा विश्वभरका सिनेमाघरमा रिलिज हुने तयारीमा छ। फिल्म तेलुगु, हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन गरिनेछ।