जुम्ला । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडा पालन व्यवसायमा संलग्न किसानलाई प्रोत्साहनस्वरूप वितरण गर्दै आएको गोठालो भत्ता वितरणमा पारदर्शिता र पहुँचको अभाव देखिएको छ।
कार्यालयका अनुसार यस वर्ष सबैभन्दा धेरै गुठीचौर गाउँपालिकाका ४० जना किसानले भत्ता पाएका छन्। त्यसपछि सिँजा ३७, तातोपानी ३१, तिला २२, चन्दननाथ १९, कनकासुन्दरी १३ र हिमा गाउँपालिकाका ५ जना किसान लाभान्वित भएका छन्।
प्रत्येक किसानलाई एकमुष्ट १८ हजार रुपैयाँ प्रदान गरिएको कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले जानकारी दिए । तर कतिपय किसानले प्रक्रिया पुरा गरे पनि सूचीमा नाम नपरेको, सूचना नपाएको वा कागजात अपुग भएको जस्ता कारणले भत्ता नपाएको गुनासो गरेका छन् ।
स्थानीय किसानहरू भन्छन्, 'हामी पनि भेडा पाल्छौं, तर गोठालो भत्ता के हो भन्ने नै थाहा छैन।' ग्रामिण क्षेत्रका किसानहरू योजना, प्रक्रिया र कागजातको जानकारी नपाउँदा कार्यक्रमबाट वञ्चित भएको देखिन्छ।
सरोकारवालाहरूले सूचना प्रवाह सुधार, समावेशी वितरण, र स्थानमै सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन् । भत्ता वितरण प्रणालीको पुनरावलोकन र सुधारको माग समेत तीव्र हुँदै गएको छ।