काठमाडौं। हाल चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाले जापानको भिसा अस्वीकार भएको भन्ने समाचारप्रति भ्रम नफैलाउन आग्रह गरेका छन्। उनले आफु कार्यव्यस्त भएका कारण 'नेपाल महोत्सव २०२५' मा जान नपाएको स्पष्ट पारेका छन्।
गल्कोट समाज जापानले जुन १४–१५ मा ओसाकामा आयोजना गर्न लागेको कार्यक्रममा दुर्गेशले भिसा नपाएको भन्ने खबर सार्वजनिक भएपनि उनले पहिले नै जुन ७ मा कुवेतको कार्यक्रम तय भएकाले जापान जान सम्भव नभएको उल्लेख गरेका छन्।
थापाले फेसबुकमार्फत लेखेका छन्, “कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा, मैले आफ्नो पासपोर्ट तीन दिनमै फिर्ता लिनुपर्यो।”
उनले जापानका आयोजकलाई पासपोर्ट बुझाएको स्वीकार गर्दै भनेका छन्, “मैले नपुग्न सक्ने भनेपनि आयोजकले भिसा छिट्टै दिलाइदिन्छु भनेपछि बुझाएको थिएँ।”
थापाले जापानको आयोजकसँग कुनै औपचारिक सम्झौता नभएको दाबी गर्दै त्यहाँका दर्शकसँग भेट्न चाहना रहेको बताएका छन्।
यता, गल्कोट समाज जापानले एक महिनाअघि देखि दुर्गेश थापा कार्यक्रममा सहभागी हुने भन्दै प्रचार गरिरहेको देखिन्छ। प्रचार सामग्रीमा रामचन्द्र चन्द, विष्णु खत्री, विक्रम परियार र अनिता चलाउने समेत कार्यक्रम सहभागी हुने उल्लेख गरिएको छ।
गायिका अनिता चलाउनेले पनि उक्त प्रचार सामग्री आफ्नो फेसबुकमा सेयर गरेकी छन्।