सल्यान । दार्मा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँ सभाको १७औँ अधिवेशनमार्फत अध्यक्ष निमबहादुर केसीले नीति सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिने बताए।
गाउँपालिकाले आत्मनिर्भर अर्थतन्त्र, शून्य बेरुजु पालिका, तथा दिगो विकासलाई लक्ष्य बनाउँदै कृषि र पशुपालनमा व्यवसायीकरण, नगदे बाली प्रवर्द्धन, एक घर एक करेसाबारी कार्यक्रम, तथा कृषक परिचयपत्र वितरणको तयारी गरेको छ ।
स्वास्थ्य क्षेत्रमा मातृ-शिशु सेवा, पोषण सुधार, आयुर्वेद सेवा विस्तार र सुत्केरी सेवा सुदृढीकरणका कार्यक्रम अघि सारिएका छन्। शिक्षामा सुधार कोष, स्मार्ट विद्यालय, अपाङ्गमैत्री शौचालय, र शिक्षक सम्मानजस्ता कार्यक्रम समेटिएका छन् ।
साना तथा घरेलु उद्योग, पर्यटन प्रवर्द्धन, सडक, पुल, सिचाइ, विद्युत् र इन्टरनेटजस्ता पूर्वाधारमा लगानी बढाइनेछ। वातावरण संरक्षण, सुशासन प्रवर्द्धन, गुनासो व्यवस्थापन र समावेशी विकासका कार्यक्रम पनि प्राथमिकतामा छन्।