सल्यान । कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समावेशी, दिगो र आत्मनिर्भर विकासलाई लक्ष्यित गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँसभाको १७औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र सुशासनमार्फत समृद्ध कपुरकोट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नीति तथा कार्यक्रममा कृषि र पशुपालन क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउँदै नमूना पकेट क्षेत्र, एक घर एक करेसाबारी, कृषक परिचयपत्र वितरण, कृषक कल्याण कोष, उन्नत नश्ल प्रवर्द्धन, पशु खोप अभियान तथा पोषण सचेतना कार्यक्रम समेटिएका छन् ।
स्वास्थ्य क्षेत्रमा मातृ(शिशु सेवा सुदृढीकरण, योग शिविर, आयुर्वेद सेवा विस्तार तथा नसर्ने रोग पहिचान जस्ता कार्यक्रम छन्। शिक्षा क्षेत्रमा शिक्षा सुधार कोष, नमूना वाल विकास केन्द्र, अपाङ्गमैत्री शौचालय, खेल मैदान विस्तार, शिक्षक तालिम लगायत कार्यक्रम अघि सारिएको अध्यक्ष पुनले बताए ।
महिला, दलित, अपाङ्ग, द्वन्द्वपीडित र अति विपन्न वर्गलाई लक्षित छात्रवृत्ति, सीप तालिम, प्रेरणा कार्यक्रम, सुरक्षित आवास गृह सञ्चालन गरिने छ। साथै, वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना समावेश गरिएको छ ।
स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै काष्ट उद्योग प्रवर्द्धन, स्टार्टअप व्यवसायलाई सहुलियत, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणमार्फत पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।
पूर्वाधार विकासका लागि सडक, सिचाइ, खानेपानी, विद्युत, इन्टरनेट, बजार व्यवस्थापनमा लगानी बढाइने छ। ‘हरित कपुरकोट’ अभियानअन्तर्गत सबै घरमा विद्युत, सबै खेतमा सिचाइ पुर्याउने लक्ष्य लिइएको छ ।
वातावरण संरक्षणका लागि फोहोर व्यवस्थापन, जलाधार संरक्षण, वृक्षारोपण, हरित मार्ग निर्माण, विपद् न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने छ। सुशासन प्रवर्द्धनका लागि अनुगमन प्रणाली, नागरिक गुनासो व्यवस्थापन, हटलाइन सेवा र नागरिक सन्तुष्टि सूचकाङ्क विकास गरिनेछ। साथै, मालपोत करलाई सम्पत्ति करमा रूपान्तरण गर्दै करदातामैत्री राजस्व प्रणाली कार्यान्वयन गरिने उल्लेख छ।