जुम्ला । जुम्ला र डोल्पाको सीमा क्षेत्रमा पर्ने दुर्गम मणिसाँघु गाउँमा हिमानी कोषको लगानीमा सुविधायुक्त प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माण हुन लागेको छ। भौगोलिक कठिनाइका कारण गर्भवती महिलाहरूले घरमै सुत्केरी हुनुपर्ने बाध्यता अन्त्य गर्न कोषले एक करोड ५० लाख रुपैयाँ लगानीमा प्रसूति गृह निर्माण सुरु गरेको हो।
शनिबार हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरेका हुन् । जुम्ला संयोजक गोर्कण कठायतका अनुसार, अत्यधिक चिसो हुने मणिसाँघुमा मौसमअनुकूल सुविधा सम्पन्न दुईवटा भवन निर्माण हुनेछ, जसको काम आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।
प्रस्तावित बर्थिङ सेन्टरले गुठीचौर गाउँपालिका–१ र २ का ९ वटा बस्तीका हजारौं महिलालाई सुरक्षित मातृस्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीय वडाध्यक्ष अर्जुन महताराले भरपर्दो स्वास्थ्य सेवाको अभावमा गर्भवती महिलाहरू बाटोमै सुत्केरी हुने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे ।
गुठीचौर–१ निवासी लेखक महताराले प्रसूति गृहका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गरेका छन्। उनको योगदानप्रति कदर स्वरूप हिमानी शाहले दोसल्ला ओढाई सम्मान गरेकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकार पुग्न नसकेको दुर्गम क्षेत्रमा हिमानी कोषले सेवा भावका दृष्टिले पूर्वाधार निर्माण गर्नु स्वागतयोग्य कार्य भएको बताए। यसले संस्थागत सुत्केरी सेवा पहुँचमा पुर्याउने सरकारी अभियानलाई टेवा पुर्याउने उनले उल्लेख गरे ।
यसैबीच, हिमानी कोषकै लगानीमा हिमा गाउँपालिका–७ को माथिकुडुमा निर्माण सम्पन्न बृहत्त सिँचाइ पोखरीको पनि उद्घाटन गरिएको छ। स्थानीयको मागअनुसार खेतीयोग्य बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको हो ।