सल्यान । छत्रेश्वरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सञ्चालित मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धन परियोजनाले उल्लेख्य सुधार देखिएको छ ।
बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सल्लाहकार समिति बैठकमा परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ, चुनौती र आगामी योजना समीक्षा गरिएको थियो । अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले साथी स्वयंसेवक परिचालन, स्वास्थ्यकर्मी तालिमलगायतका पहलले लक्षित समूहमा सकारात्मक प्रभाव पारेको बताए। सीएमसी नेपालका हिमाल गैरेले वडास्तरमा सेवा विस्तारमा जोड दिन आवश्यक रहेको उल्लेख गरे ।
परामर्शकर्ता गीता पहाडीका अनुसार गत पुस १७ देखि हालसम्म १६६ जनाले मानसिक स्वास्थ्य सेवा लिएका छन्, जसमध्ये ४० जना पूर्ण रूपमा निको भएका छन् । १७ जना प्रवासी कामदार परिवारलाई बीउपुँजी सहयोगपछि उनीहरू तरकारी खेती र पशुपालनबाट आम्दानी गरिरहेका छन् ।
गाउँपालिकाले ७४१ घरमा पुगेर मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी जानकारी दिएको छ भने ४५ जना समस्याग्रस्त व्यक्ति पहिचान भई उपचारमा छन्। हाल तीन जना स्वयंसेवक समुदायस्तरमा सक्रिय छन् ।
विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। बैठकमा वडा अध्यक्षहरू, सीएमसी नेपालका प्रतिनिधि र विषयगत शाखाका कर्मचारीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले गरेका थिए।