सल्यान । सल्यानको शारदा नगरपालिकामा तेस्रो नगरस्तरी पढाई मेला सम्पन्न भएको छ । शारदा नगरपालिकाको आयोजना तथा दलित विकास समाज (रुम टु रिड) को प्राविधिक सहयोगमा तेस्रो नगरस्तरीय पढाइ मेला त्रिभुवन जन माध्यमिक विद्यालय, लुहापिङ खलंगामा बुधबार सम्पन्न भएको हो ।
मेलामा नगरभित्रका ४२ वटा विद्यालयले आफ्ना विद्यार्थीद्वारा तयार पारिएका शैक्षिक सामग्री, विज्ञान उपकरण, भाषिक पोस्टर, कृषि नमूना र सिर्जनात्मक कृतिहरू प्रदर्शन गरेका थिए ।
मेला अवलोकनका क्रममा पिपलनेटा स्थित महेन्द्र रत्न माध्यामिक विद्यालय कक्षा ७ की समीक्षा वलीले आफैंले रचना र गाएको गीतमार्फत कर्णालीका १० जिल्लाको परिचयसँगै सल्यानको विकास अवस्थामाथि व्यंग्य प्रस्तुत गरिन् । यस गीतले आगन्तुकहरूको ध्यान खिच्यो ।
खड्गदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूले स्थानीय स्रोत प्रयोग गरी शैक्षिक सामग्री निर्माणसँगै आफैं पकाएका परिकार बिक्री गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मौसमदास श्रेष्ठका अनुसार यो अभ्यासले विद्यार्थीसँग पेशा व्यवसायबारे व्यवहारिक ज्ञान र आत्मविश्वास बढाएको छ।
मेलामा सहभागी अभिभावक र शिक्षकहरूले स्टल अवलोकन गर्दै विद्यार्थीबाट जानकारी लिएका थिए। सर्वोत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै निवर्तमान जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्ट, नगरप्रमुख प्रकाश भण्डारीलगायत वक्ताहरूले पढाइ मेलाले शिक्षामा व्यवहारिक पक्ष थपिएको र बालबालिकामा सीप र आत्मविश्वास विकासमा योगदान दिएको बताए ।