कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता जनाएका छन् ।
शैक्षिक सुधारका लागि गाउँपालिकाले आयोजना गरेको सरोकारवाला छलफल कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् । गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी ले “सरकारी सेवा, निजी शिक्षा” को प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले सबैको छोराछोरीलाई आफ्नै टोलको सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने नियम बनाउने प्रस्ताव राखे ।
शिक्षा शाखा प्रमुख मदन शाहीका अनुसार छलफलमा सहभागी पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक आदिले नियमितता, गुणस्तर वृद्धि, कक्षा मर्ज र दरबन्दी मिलान जस्ता विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
कक्षा ८ र १० को कमजोर नतिजा सुधार गर्न छलफल गरिएको र दलीय राजनीति अन्त्य, पूर्वाधार सुधार, अभिभावक सहभागिता आवश्यक रहेको सुझाव अनुगमन अधिकृत प्रेम चौलागाईंले बताए ।
बायोमेट्रिक प्रणाली विग्रिएको हुँदा फेरि जडान गर्नुपर्ने आवश्यकताबारे पञ्चदेवल मावि प्रमुख जयाकुमारी देवकोटाले जानकारी दिइन्।