नयाँ दिल्ली। दक्षिण भारतीय चर्चित अभिनेता तथा निर्माता कमल हासन हाल भाषिक विवादमा मुछिएका छन्। यो विवाद उनीद्वारा दिइएको एक अभिव्यक्तिपछि शुरु भएको हो।
जसका कारण उनको बहुप्रतिक्षित फिल्म ‘थग लाइफ’ कर्नाटक राज्यमा प्रदर्शनमा रोक लगाइएको छ। कमल हासनले आफ्नो फिल्म ‘थग लाइफ’ को प्रचारक्रममा आयोजित एक कार्यक्रममा कर्नाटक राज्यको कन्नड भाषा तमिल भाषाबाट जन्मिएको भन्ने अभिव्यक्ति दिएका थिए। उनको यही अभिव्यक्तिलाई लिएर कर्नाटकमा चर्को विरोध शुरु भएको छ। कर्नाटक फिल्म चेम्बर अफ कमर्सले उनको अभिव्यक्तिलाई अपमानजनक भन्दै आपत्ति जनाउँदै उक्त फिल्मलाई राज्यमा प्रदर्शन हुन नदिने निर्णय लिएको हो।
उनको फिल्म यही आउँदो शुक्रबार, जुन ५ मा प्रदर्शन हुने तालिका रहेको थियो। तर केएफसीसीले फिल्मको प्रदर्शनमा रोक लगाउने औपचारिक निर्णय सार्वजनिक गर्दै, यदि कमल हासनले सार्वजनिक रूपमा माफी नखेलेमा आगामी दिनमा उनका अन्य फिल्महरू पनि प्रदर्शनमा आउन नदिने चेतावनी दिएको छ।
केएफसीसीको यो निर्णयपछि कर्नाटक राज्यमा कमल हासनविरुद्ध विरोध प्रदर्शन चर्किएको छ। विभिन्न स्थानमा उनको पुतला दहन गरिएको छ भने सामाजिक सञ्जालमा समेत उनको अभिव्यक्तिको कडा आलोचना भइरहेको छ। कन्नड भाषालाई लिएर भइरहेको यो संवेदनशीलताको बीचमा कमल हासनले भने आफ्नो फिल्म निर्वाधरूपमा प्रदर्शन हुनुपर्ने माग गर्दै कानुनी बाटो समातेका छन्।
भारतीय मिडिया बलिउड टाइम्सका अनुसार, कमलले अदालतमा मुद्दा दायर गरेका छन्, तर हालसम्म अदालतले उनको पक्षमा कुनै निर्णय दिएको छैन। अदालतको आदेश नआएसम्म फिल्मको प्रदर्शन अन्यौलमा परेको देखिन्छ।
दक्षिण भारतमा भाषिक पहिचान निकै संवेदनशील विषय रहँदै आएको छ। यस्तो अवस्थामा चर्चित व्यक्तित्वबाट आएको यस्तो अभिव्यक्तिले जनभावनामा चोट पुगेको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्। कमल हासनले यस विषयमा माफी माग्ने वा आफ्नो अभिव्यक्ति फिर्ता लिने सम्बन्धी कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
अब के कमल हासनले आफ्नो अभिव्यक्तिबाट उत्पन्न विवाद समाधान गर्छन् वा अझ बढ्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ। फिल्म ‘थग लाइफ’ को भविष्य हाल विवादकै कारण अन्योलमा परेको छ।