सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका–६ स्थित भोटेचौरको छायाँछेत्र स्वास्थ्य चौकीमा शुक्रबारदेखि प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ। नयाँ भवन उद्घाटनसँगै ल्याब सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिए ।
गाउँपालिकाले ल्याब सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरणहरूको व्यवस्थापन गरेको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन पालिकाले निरन्तर प्रयासरत रहेको बताए। उनले स्वास्थ्य पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन अन्तर्गत ल्याब सेवा सञ्चालन गरिएको स्पष्ट पारे ।
त्यस्तै, उपाध्यक्ष बुद्धकुमारी खत्रीले राप्ती राजमार्ग नजिकै रहेको छायाँछेत्र स्वास्थ्य चौकीबाट सेवा विस्तार हुने भएकाले आसपासका बासिन्दा मात्र नभई अन्य क्षेत्रका नागरिकले समेत लाभ लिन सक्ने बताइन् । वडा नं ६ का अध्यक्ष टिकाराम बुढा, वडा सदस्य सागर नेपाली लगायत वक्ताहरूले सेवा सुरु भएसँगै स्वास्थ्य चौकीबाट प्रसूति, खोप, नियमित उपचार, मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य लगायतका सेवा सहज रूपमा उपलब्ध हुने जानकारी दिए।
छायाँछेत्र स्वास्थ्य चौकी प्रमुख प्रतिभा बुढाथोकीका अनुसार ल्याबमा १५ प्रकारका परीक्षण सेवा प्रदान गरिनेछ। ती सेवामा सुगर, युरिक एसिड, हेमोग्लोबिन, पिसाब परीक्षण (गर्भ परीक्षण सहित), क्षयरोग, मलेरिया, डेंगु, कालाजार, टाइफाइड, इएसआर, सीआरपी, आरए फैक्टर लगायतका परीक्षण समावेश छन्।