सल्यान । सिद्धकुमाख गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, सुर्खेतको आयोजनामा बिहीबार गाउँपालिका सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत गिरीले सार्वजनिक पदमा रहने व्यक्तिहरूले पारदर्शिता, जवाफदेहिता र कानुनी प्रक्रिया पालना गर्दै राष्ट्रप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष रामबहादुर बस्नेतले भ्रष्टाचारले व्यक्तिगत प्रतिष्ठा र राष्ट्रको लगानीमा क्षति पुर्याउने हुँदा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागीहरूले आफ्ना जिज्ञासा र सुझावहरू राखेका थिए । सो अवसरमा अख्तियार कार्यालय सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले उजुरीहरू जुनसुकै माध्यमबाट गर्न सकिने र प्राप्त उजुरीमा गहिरो अध्ययनपछि मात्रै निर्णय लिइने जानकारी दिए । उनले सिद्धकुमाख गाउँपालिकामा हालसम्म केवल एक उजुरी मात्र परेको तथ्य सार्वजनिक गर्दै यसलाई सकारात्मक संकेतको रूपमा व्याख्या गरे ।
कार्यक्रममा उपसचिव मंगलबहादुर शाहीले भ्रष्टाचारको अवधारणा, कानुनी प्रक्रिया, कारण, भ्रम र वास्तविकता लगायतका विषयमा विस्तृत प्रस्तुतिकरण गरेका थिए ।
अन्तरक्रियामा पालिकाका वडाध्यक्ष, प्रशासकीय अधिकृत डिल्ली खड्का, विभिन्न शाखाका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।