रुकुम पश्चिम । रुकुम पश्चिममा सञ्चालन गरिएको निःशुल्क मुटु स्वास्थ्य शिविरबाट ६ हजार १ सय विद्यार्थीको मुटुको परीक्षण गरिएको छ। नेपाल हृदय रोग निवारण प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा रुकुम पश्चिम जिल्ला शाखाको आयोजनामा मंगलबार शिविर सम्पन्न भएको हो ।
शिविर त्रिभुवन जनता माध्यमिक विद्यालय, खलंगा मुसिकोट–१ र महाकाली माध्यमिक विद्यालय, सिस्नेखोला मुसिकोट–२ मा सञ्चालन गरिएको थियो।
प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष नरबहादुर लम्सालका अनुसार, परीक्षण गरिएका विद्यार्थीहरूमध्ये ३६ जनामा मुटु सम्बन्धी समस्या देखा परेको छ भने ५ जनामा गम्भीर अवस्था देखिएकाले तत्काल शल्यक्रिया आवश्यक पर्ने देखिएको छ ।
अध्यक्ष लम्सालले जानकारी दिएअनुसार, औषधि सेवन गरेर उपचार सम्भव हुने विद्यार्थीहरूलाई आगामी दुई महिनासम्म निःशुल्क औषधि प्रदान गरिनेछ। त्यस्तै, शल्यक्रिया आवश्यक पर्ने ५ जनाको पनि नेपाल हृदय रोग निवारण प्रतिष्ठानले पूर्णरूपमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ।
शिविरमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा। प्रेम सुवाल नेतृत्वको ८ सदस्यीय वरिष्ठ मुटु रोग विशेषज्ञहरूको टोलीले बालबालिकाको परीक्षण गरेको थियो ।स्वास्थ्य शिविरबाट मुसिकोट नगरपालिका क्षेत्रका सल्ले, सेरिगाउँ, डाङ्ग्रीचौ, विजयश्वरी, न्यू मुनलाइट र सिस्ने बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सेवा प्राप्त गरेका थिए ।