सल्यान । जैविक विविधता र प्राकृतिक सम्पदामा समृद्ध कर्णाली प्रदेशको सल्यानमा दुर्लभ वनस्पति 'साइथिया स्पाइनुलोसा' (काँडेदार फर्न रुख) फेला परेको छ।
दार्मा गाउँपालिका–३ स्थित धुलखर्क सामुदायिक वन र कपुरकोट गाउँपालिका–४ को कालिका सामुदायिक वनमा यो वनस्पति भेटिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले पुष्टि गरेको छ । स्थानीय नेत्रलाल घर्तीद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरपछि वातावरणविद् जीवन शर्मा, वातावरण निरीक्षक केशव बस्याल र अनुसन्धानकर्ता टोपेन्द्र गिरीको टोलीले स्थलगत अध्ययन गरेको थियो ।
टोलीद्वारा संकलित नमुना र प्रत्यक्ष अध्ययनको आधारमा यो वनस्पति ‘साइथिया स्पाइनुलोसा’ भएको प्रमाणित गरिएको हो । नेपालमा प्रायः पूर्वी तथा मध्य क्षेत्रका चिस्यानयुक्त क्षेत्रमा पाइने यो प्रजाति कर्णालीमा पहिलोपटक भेटिएको हो। यसले पश्चिम नेपालमा यसको सम्भावित फैलावटको संकेत गरेको विज्ञहरूको भनाइ छ।
नेपालमा पाइने साइथियाका चार प्रजातिमध्ये दुई संकटापन्न, एक दुर्लभ र एक लोपोन्मुख अवस्थामा छन्। यद्यपि, ‘साइथिया स्पाइनुलोसा’ कम चासोको प्रजाति मानिने अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले बताए ।
औषधीय र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण यो वनस्पति छाला, मिर्गौला, आँखाको संक्रमण, मधुमेह, क्षयरोग र क्यान्सरको उपचारमा परम्परागत औषधिका रूपमा प्रयोग हुँदै आएको छ । यसको पात अचार र तरकारीका लागि, डाँठको गुदी खानयोग्य हुने तथा सजावटी वनस्पतिका रूपमा समेत प्रयोग हुने बताइएको छ ।