रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–७, सहरेस्थित फौदे बुढाथोकीको अस्थायी टहरामा सोमबार बिहान भीषण आगलागी हुँदा दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
वडा अध्यक्ष कुलबहादुर बुढाका अनुसार आगलागीबाट टहरा पूर्णरूपमा जलेको छ भने दुई वटा बाख्रा, दुई बोका, एक भेडा, तीन कुखुरा र एक कुकुर जलेर नष्ट भएका छन् । साथै, मकै, गहुँ, चामलजस्ता अन्नपात, लत्ताकपडा, भाँडाकुडा र नगद समेत जलेर नष्ट भएको छ।
टहरामा रहेको ७ हजार पाँचसय रुपैयाँ नगद पनि आगलागीमा जलेको जनाइएको छ। जसमध्ये २ हजार फौदे बुढाथोकीको कपडामा रहेको थियो भने उनकी श्रीमतीले काफल बेचेर बचत गरेका ५ हजार रुपैयाँ पनि को सानीभेरी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कुलबहादुर बुढाले जानकारी दिए ।
आगलागीबाट एक भैँसी र एक गोरु गम्भीर घाइते भएका छन् । छिमेकीहरूले उद्धार गरे पनि दुबै पशु अहिले उपचाररत छन् । वडा अध्यक्षका अनुसार, तामाखु (कक्कर) सल्काउने क्रममा टहरानजिकको खरमा आगो सल्केर टहरामा फैलिएको हो ।
मानवीय क्षति नभए पनि टहरा पूर्णरूपमा खरानी भएको छ। उक्त टहरा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत सरकारको अनुदान रकमबाट निर्माण गरिएको अस्थायी आवास थियो। स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको बताइएको छ ।