काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश पछाडि पर्नुको मुख्य कारण नेकपा एमाले भएको बताएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले विगतमा सत्तामा बसेको एमाले नेतृत्वले कर्णालीमाथि हेपाहा दृष्टिकोण राख्दै त्यस क्षेत्रलाई योजनाबद्ध रूपमा पछाडि पारिएको लगाए । सांसद शाहीले कर्णाली पछाडि परेको होइन, एमालेकै कारणले पछि पारिएको हो बताए ।
शाहीका अनुसार कर्णाली प्रदेश विकास, पूर्वाधार र पहुँचका हिसाबले सम्पन्न बन्न सक्ने सम्भावना बोकेको भए पनि एमालेको शासनकालमा त्यस क्षेत्रलाई हेपिने, उपेक्षा गरिने र शोषण गर्ने प्रवृत्तिले पछाडि पारिएको हो ।
शाहीले भने, “एनजिओहरूको नाममा कर्णालीलाई लुटियो। कर्णालीका फोटो खिचेर डलर कमाउने काम गरियो। एमाले नेतृत्वले त्यो सबैलाई प्रोत्साहन गर्यो, जसका कारण कर्णाली भिखारी प्रदेशजस्तो देखिएको हो ।”
उनले हालको सरकारमाथि पनि त्यही व्यवहार दोहोर्याउने संकेत देखिएको भन्दै चासो व्यक्त गरे । “यदि अहिले पनि त्यही हेपाहा मानसिकता दोहोरियो भने, कर्णालीका सबै जनप्रतिनिधिहरूले एकताबद्ध भएर गम्भीर निर्णय गर्नुपर्ने हुन्छ,” शाहीले चेतावनी दिए ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजन अन्तर्वार्तामा ‘कर्णालीमा पानीको अभाव भएकाले दशौं राष्ट्रिय खेलकुद सम्भव छैन’ भनेको सन्दर्भमा आपत्ति जनाउँदै शाहीले भने, “भेरी र कर्णाली नदीहरू त्यहीँ छन्। पानी छैन भन्नु कर्णालीप्रति घोर अपमान हो ।”
कर्णालीलाई विगतदेखि उपेक्षा गरिएको भन्दै उनले समानताको आधारमा बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे। “७० प्रतिशत कठिन भूगोल भएको कर्णाली प्रदेशलाई सदैव अधिकारबाट वञ्चित गरिँदै आएको छ,” उनले भने, “अब न्यायपूर्ण नीति र व्यवहारको खाँचो छ।”