काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले भ्रष्टाचार, दलाल पुँजीपति र तस्करहरूलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले वर्तमान सरकारले जनताको हैन, भ्रष्ट र दलाल पुँजीवादी सञ्जालको सेवा गरिरहेको टिप्पणी गरे। “सरकारको व्यवहारले देखाउँछ— भ्रष्ट्राचारी, दलाल पुँजीपति र तस्करहरू अहिले खुसी छन्,” उनले भने, “सरकार कसरी भ्रष्टाचार गर्ने भन्ने विषयमै केन्द्रित छ। बचेखुचेको राज्यको सम्पत्ति, केही जमिन र संस्था कसरी बेचेर खाने भन्नेमा मात्रै ध्यान दिइएको छ।”
सांसद शाहीले आफ्नो अभिव्यक्तिमा कर्णाली प्रदेशमाथिको राज्य दृष्टिकोणमाथि पनि कडा आलोचना गरे । उनले कर्णाली पछाडि परेको नभई ‘पछाडि पारिएको’ प्रदेश भएको उल्लेख गर्दै विगतदेखि नै कर्णालीमाथि हेपाहा मानसिकता रहेको आरोप लगाए ।
“केन्द्र सरकार र शक्तिशाली नेताहरूको दृष्टिकोण विगतदेखि नै कर्णालीविरोधी छ,” उनले भने, “७० प्रतिशत कठिन भूगोल भएको प्रदेश अधिकारबाट वञ्चित छ। समानताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।”
शाहीले प्रधानमन्त्रीको पछिल्लो टेलिभिजन अन्तर्वार्तामा ‘कर्णालीमा पानी छैन, त्यसैले दशौं राष्ट्रिय खेलकुद गर्न सकिन्न’ भन्ने भनाइप्रति आपत्ति जनाउँदै भने, “भेरी नदी त्यही छ, कर्णाली नदी त्यही छ, तर सरकारको नजरमा कर्णालीमा पानी छैन रे यति हेपिएको छ कर्णाली ।”
सांसद शाहीले एनजिओहरूको नाममा कर्णाली क्षेत्रको शोषण भएको लगाए । “एनजिओहरूले कर्णालीका फोटो खिचेर डलर कमाउने काम मात्रै गरे,” उनले भने, “एमालेको सरकार र नेतृत्वको कारण कर्णाली भिकारी बनाइएको हो ।”
शाहीले चेतावनी दिए— यदि सरकारले अझै पनि कर्णालीप्रति हेपाहा व्यवहार जारी राखेमा, कर्णालीका सबै जनप्रतिनिधिहरूलाई एकजुट भएर गम्भीर सोच्नुपर्ने समय आएको छ ।
शाहीले समग्र राष्ट्रिय विकासका लागि नयाँ सोच, नयाँ मोडल र समानताको आधारमा संसाधन विनियोजन गर्नुपर्नेमा जोड दिए। “विगतका आयोजनाहरू शक्तिको दुरुपयोग गरेर व्यक्तिगत निर्वाचन क्षेत्र केन्द्रित भए,” उनले भने, “अब देशलाई नयाँ मोडलमा लैजान आवश्यक छ।”