जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोग फैलिँदा दुई सयभन्दा बढी भेडा मरेका छन्। लगातार भेडा मर्न थालेपछि स्थानीय किसान चिन्तित र निराश बनेका छन्।
स्थानीयका अनुसार भेडामा पखाला लाग्ने, छटपटाउने र अकस्मात् मर्ने लक्षण देखिएको छ। रोगको पहिचान नहुँदा उपचार सम्भव नभएको र मृत्युदर अझै नघटेको वडा अध्यक्ष रामबहादुर सिंहले जानकारी दिए। “हामी स्थानीय जनप्रतिनिधि र पशु स्वास्थ्यकर्मीहरू उपचारमा खटिएका छौं, तर मर्ने दर रोकिएको छैन,” उनले भने।
पशु स्वास्थ्यकर्मीहरूले जनशक्ति र औषधिको अभावका कारण उपचारमा कठिनाइ भइरहेको गुनासो गरेका छन्। “यहाँ पर्याप्त औषधि छैन, जिल्ला कार्यालयको ध्यान पनि छैन,” एक स्वास्थ्यकर्मीले बताए ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल उपाध्यायका अनुसार भेडाको स्वाब, रगत र संक्रमित अङ्गको नमुना परीक्षणका लागि सुर्खेत पठाइएको छ। सुर्खेतमा परीक्षण सम्भव नभएपछि नमुना काठमाडौँ पठाइएको र रिपोर्ट नआएसम्म ठोस उपचार सम्भव नभएको उनले बताए ।
जिल्लामा पशु रोग परीक्षण प्रयोगशाला र विशेषज्ञ टोलीको अभावले रोगको पहिचान र नियन्त्रणमा ढिलाइ भएकोप्रति किसानहरू आक्रोशित छन् । केही दिनअघि डाक्टरसहितको टोलीले नमुना संकलन गरे पनि त्यसयता थप जनशक्ति नखटिएको स्थानीयको गुनासो छ ।
भेडा कृषिमा निर्भर किसानका लागि भेडा आम्दानीको मुख्य स्रोत हो। सयौं भेडाको मृत्युले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ। “केही गर्न नसकेर हेर्नुपरेको अवस्था छ,” एक किसानले भने, “सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।”