कालिकोट । कालिकोट जिल्लाका महाबै गाउँपालिका र तिलागुफा नगरपालिकासहितका उच्च पहाडी क्षेत्रहरूमा परेको असिनाले पाक्न लागेका अन्नबाली तथा फलेका फलफूलमा ठूलो क्षति पुर्याएको छ। असिनाको कारण जौ, गहुँजस्ता बाली र स्याउ, ओखर, नास्पाती जस्ता फलफूल लगभग सखाप भएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार असिनाले विशेषगरी ढिलो पाक्ने उच्च भेगका बालीहरूमा प्रभाव पारेको हो। कृषि विकास अधिकृत चन्द्रबहादुर शाहीका अनुसार, “महाबै र तिलागुफा जस्ता जाडो क्षेत्रका अन्नबाली अझै भित्र्याउन बाँकी रहेकाले ती क्षेत्रमा करिब ५० प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।”
डिल्लीकोट, नकु विष्टबाडा, कतम्पुर लगायतका बस्तीमा पाक्न लागेको जौ, गहुँ तथा फलेका स्याउ र नास्पाती पूर्ण रूपमा नष्ट भएको महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए ।
यस्तै, तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले वडा नम्बर ९, १० र ११ मा असिनाले करिब ६० प्रतिशत अन्नबाली र फलफूल नष्ट गरेको बताए । उनका अनुसार अन्य वडाहरूमा पनि असिना परेको भए पनि क्षति तुलनात्मक रूपमा कम छ।
स्थानीय किसानहरू भने वर्षभरको मेहनत एकैछिनको असिनाले सखाप पारेपछि मर्माहत भएका छन्। तत्काल राहत र क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
जिल्ला प्रशासन र कृषि कार्यालयले संयुक्त रूपमा वास्तविक क्षति मूल्यांकन गरी आवश्यक सहायता प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।