जुम्ला । बुधबार साँझ परेको असिना पानीले जुम्लाको गुठिचौर गाउँपालिकामा स्याउसहितका कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। विशेष गरी गुठिचौरको पूर्वी क्षेत्रका बगैँचामा असिनाले स्याउको चिचिला लाग्ने बेला पातसहित फल झारिदिँदा किसानहरू मर्माहत बनेका छन् ।
गुठिचौर–३ दामदासेका किसान नोर्बु लामाका अनुसार, करिब २० रोपनी जमिनमा लगाएको १ हजार ५०० स्याउका बिरुवामध्ये ८०० वटा फल्ने अवस्थामा असिना पानीले क्षति पुर्याएको छ। लामाले करिब १० लाख रुपैयाँ बराबरको स्याउ नष्ट भएको बताए । उनीसँगै नौ घरधुरीको स्याउ बगैँचामा लाखौँको क्षति भएको छ।
गुठिचौर–२ मुडुरीका वडाध्यक्ष दीपबहादुर ऐडीका अनुसार, मुडुरी, कोल्ते, गुठिगाउँलगायत क्षेत्रका ५५० घरधुरीका स्याउ, ओखर, गहुँ, जौँ र अन्य बर्खे फलफूलमा करिब ६० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। जौँ र गहुँ बाली भित्र्याउने मुखमा असिना पानी परेपछि किसान चिन्तित छन्।
जुम्लामा हाल ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ भने १६ हजार घरधुरी स्याउमा निर्भर छन्। कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार, गत वर्ष मात्रै जुम्लाबाट ६१ करोड ४१ लाख रुपैयाँको स्याउ बिक्री भएको थियो। यस वर्षको क्षतिको यकिन विवरण संकलनको क्रममा रहेको अधिकारीले जानकारी दिए ।
गत वर्ष स्याउ बिमा गरिएकाले केही राहत मिलेको किसानले बताए पनि यस वर्ष बिमा नगरिएकाले किसानहरू थप मारमा परेका छन्। किसानहरूले तत्काल क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।