दाङ: दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान, रोल्पाबाट उत्पादित तरकारी पनि बजारीकरणका लागि तुलसीपुर नै केन्द्र बन्ने गरेको बताए । तुलसीपुर यस क्षेत्रको मात्रै होइन, बाहिरी जिल्लाको बजारीकरण केन्द्र हो ।
त्यसैले यहाँको तरकारी बजारलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्छ । अहिले उपमहानगरपालिकामा उत्पादित तरकारीसँगै दङ्गीशरण, बबई, शान्तिनगरको तरकारीको बजार केन्द्र पनि तुलसीपुर हो । त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाबाट पनि तुलसीपुरमै तरकारी आउने गरेको छ ।
तरकारी बजारीकरणका लागि रु दुई करोड ३३ लाख लगानीमा तरकारी मण्डी सञ्चालनमा ल्याइएको छ । मावि सेन्टरको १२ कठ्ठा १७ धुर भाडामा लिएर उक्त तरकारी मण्डी सञ्चालनमा ल्याइएको हो । जहाँ ३८ कोठा रहेका छन् । तीमध्ये १६ वटामा तरकारी व्यापार, १९ वटा कोठामा फलफूल व्यापार गर्ने गरिएको छ ।
विसं २०६८ मा उक्त बजार दर्ता गरी सञ्चालनमा ल्याइएको हो । तुलसीपुरमा मात्रै दैनिक रु चार लाख बराबरको कारोबार हुने गर्छ । त्यस्तै तुलसीपुरमा दैनिक रु सात लाख बराबर फलफूल कारोबार हुने गर्छ । तुलसीपुरमा मात्रै १८ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्छ ।
तुलसीपुरमा १७ हजार दुई सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । तर १५ हजार दुई सय २७ हेक्टरमा मत्रै खेती हुने गरेको छ । तुलसीपुरमा नौ हजार नौ सय ९९ हेक्टर खेतको क्षत्रफल रहेको छ भने छ हजार एक सय २८ हेक्टर पाखोको क्षेत्रफल छ ।
जसमध्ये खेतीयोग्य जमिनमा बाली नलगाएको क्षेत्रफल एक हजार नौ सय ८५ रहेको छ । तुलसीपुरमा ६०.५ प्रतिशत कृषि आश्रित परिवार छ । तुलसीपुरमा हाल चार सय ८५ कृषक समूह रहेका छन् ।
तुलसीपुर ६० समूह तथा सहकारीले रासायनिक मलखादको विक्रेताको इजाजत लिएका छन् । त्यस्तै तुलसीपुरमा चार सय ५० वटा कृषि घरेलु फार्म दर्ता भएका छन् ।