फोटो क्रेडिट : भाष्कर बस्नेतको फेसबुकबाट
सुर्खेत : माउन्टेन साइकल यात्री तथा पर्यटन अभियान्ता भाष्कर बस्नेत साइकल गुडाउँदै डोल्पाको जगदुल्ला ताल पुगेका छन् । जाडोको समयमा जमेको तालमा भाष्करले राष्ट्रिय झण्डा बोकेर साइकल गुडाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
उनले तालसम्म साइकल बोकेरै लिएका हुन् । बाटो भएको ठाउँमा चढेर र पहाडी बाटोमा साइकल बोकेर तालसम्म लिएका हुन् । जगदुल्ला उपल्लो डोल्पामा पर्ने एक मनमोहक ताल हो । जुन समुन्द्र सतहदेखि ४ हजार ७ सय मीटर उचाईमा पर्छ ।
हिउँदको महिनामा निलो पानी देखिने ताल भने हिउँदको समयमा हिउँ जमेर सेताम्मे हुने गरेको छ । भाष्करले हिउँदको समयमा जमेको तालमाथि साइकल गुडाएका हुन् ।
साइकल बोकेर जगदुल्ला तालसम्मको यात्रा गर्दा निकै कठिनाई भएको उनी सुनाउँछन् ।
‘हरेक कुराको सुरुवाती चरण निकै नै गाह्रो हुन्छ । तर पनि पहिलो पटक त्यसठाउँमा पुग्नु बाटो खोज्नु, भिडियो खिच्नु, फोटो खिच्नु लगायतका अनेक समस्याको सामाना गर्नुपर्यो’ यात्रा कठिनाईबारे उनी भन्छन्, ‘यात्रा सुरु गर्नु अगावै यी सबै कुरा हामी भोग्न तयार थियौँ । ठुलो चुनौतिका बीचमा पनि तालमै पुगेर हामीले जगदुल्ला तालबारे प्रचारप्रसार गर्न सफल भएका छौँ ।’
साइकल यात्रा गर्दा धेरै कठिनाई भोगेपनि यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्न आवश्यक रहेको भाष्कर औल्याउँछन् । तर सम्बन्धित निकाय र संघ संस्थाले खासै चाँसो नदिँदा एक्लोपना महसुस हुने गरेको उनी बताउँछन् ।
‘यो तालको प्रचार गर्न म आँफै साइकल लिएर पुगेको थिएँ । हामीले हाम्रो तर्फबाट डोल्पा जिल्ला मात्र नभई कर्णाली चिनाउने सक्दो प्रयास गरेका छौँ’ भाष्कर आफ्नो भोगाई बाड्दै भन्छन्, ‘तर यात्रा गर्नको लागि हौसला दिने साथ सहयोग गर्ने यात्रामा आवश्यक पर्ने समानहरु जुटाउने यातायात देखि लियर एउटा यात्रीलाई चाहिने आधारभूत आवश्यकता पनि खासै चासो नदिएको महसुस हुन्छ । यद्यपी हामी कर्णाली चिनाउने हाम्रो यात्रा रोक्दैनौँ ।’