महोत्तरी : जलेश्वर आज भरिभराउ र सजिसजाउ छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको श्री जलेश्वरनाथ मन्दिरमा गुञ्जने ‘जयशम्भो’ को स्वरमा लय मिसिँदै छ । चौथो दिनको रात्रि विश्रामस्थल मटिहानीदेखि जलेश्वरसम्मै अहिले अटुट मानव पङ्क्ति छ । सबैको मुखबाट ‘जय श्रीराम १ जय जानकी १’ को मन्त्र र जलेश्वर मन्दिर परिसरमा ‘जयशम्भो’ पुकारा सुनिन्छ ।
पिठ्यूँमा फेरफार लुगा र सामल खाजाको पोका, मन र वचनबाट श्रीराम नाम सङ्कीर्तन । माध्यमिकी परिक्रमाको पाँचौँ दिन यात्री जलेश्वर पुग्दै गर्दा जलेश्वरवासी स्वागतमा तमतयार खडा छन् । यात्राको पाँचौँ दिनको विश्रामस्थल जलेश्वरस्थित परिक्रमा पोखरीका चारै डिल यात्रीले खचाखच छ । श्रीराम र श्री जानकीजीको डोला दर्शन गर्न पुग्ने श्रद्धालुको भीड उत्तिकै छ । जलेश्वर नगरभरि स्वागतद्वार र ध्वजापताका सजाइएका छन् । आज जलेश्वर उजेलिएको छ, आज जलेश्वर चहकिएको छ । जताततै भीड छ, तर कोलाहल छैन, भक्तिभजनका स्वर गुञ्जिदाछन् । ‘आजु जलेश्वर सुमङ्गल हे।।१’
अवधविहारी लाल (श्रीराम) र किशोरीजी (श्री जानकी)को पदचाप पछ्याउने यात्राको ध्येय अनि कल्याण र मोक्षको कामना । अघि त्रेता युगमा विवाहपश्चात् श्रीराम र जानकी तत्कालीन मिथिला (विदेह) राज्यका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा १८औँ शताब्दीमा माध्यमिकी परिक्रमा प्रारम्भ भएको मानिन्छ । मिथिलाको महाकुम्भ भनिने यो यात्रामा नेपाल र भारतका साधुसन्तको सरिकता हुँदै आएको छ । गृहस्थ आश्रमका पनि १५ दिन सांसारिक मायाजाल पन्छाएर सरिक हुँदै आएका विगतदेखिको परम्परा छ ।
फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिलाविहारी स्थानबाट मिथिलाविहारी (श्रीराम)को प्रतिमा राखिएको डोला अघि लगाएर निस्कने यात्रामा जनकपुरधामको अग्नीकुण्डस्थानबाट निस्कने किशोरीजी (जानकीजी)को डोला मिसिएपछि यात्रा विधिवत् प्रारम्भ हुन्छ । जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र दुलाहादुलही मन्दिरसहित पवित्र तलाउ गङ्गासागर एवं धनुषसागरको प्रदक्षिणा गर्दै पहिलो रात्रिबास धनुषाको हनुमानगढीमा बस्ने परम्परा छ । ्
नेपाल र भारतका विभिन्न तीर्थस्थल घुम्दै १३३ किमीको यात्रा गरिने यो क्रममा १५ रात्रिबसको परम्परा छ । नेपालतर्फ महोत्तरी र धनुषा गरी १०७ र भारतर्फ मधुवनी जिल्लामा २६ किमी दुरी तय गरिन्छ । यात्राका क्रममा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनीमा चार रात्रिविश्राम परम्परा छ ।
महाशिवरात्रिलगत्तै प्रारम्भ हुने यो यात्रामा भगवान् सदाशिव र श्रीराम तथा जानकी समानरुपले पुकारा गरिने इष्टदेव मानिँदै आइएको छ । कूल १३३ किमीको वृत्ताकारभित्र चार सुरमा शिवालय छन् । सदाशिवले यात्रा मङ्गलमय र कल्याणदायक बनाउने हिन्दू मैथिल जनविश्वास छ । डोला जहाँ पुग्छन्, दर्शन गर्नेको चाप हुन्छ । यो यात्रा नेपाल भारतबीच सांस्कृतिक, धार्मिक र आपसी कुटुम्ब सम्बन्धको अटुट परम्परा पनि भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेल बताउछन ।
यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेको परिक्रमा यात्री टोली अब आठौँ दिनसम्म यसै जिल्लामा रहनेछन् । यस क्रममा आज पाँचौँ दिन जलेश्वरमा रात्रिबास हुनेछ । मटिहानीमा जिल्लाको पहिलो रात्रिबास हुने परम्परा छ । यसैगरी छैठौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुने परम्परा छ ।
त्यसैगरी धनुषाको हनुमानगढीमा पहिलो रात्रिबासबाट प्रारम्भ भएको यात्रामा नवौँ, १०औँ ११औँ, १२औँ र अन्तिम रात १५औँ दिन बिताइन्छ । त्यसमा क्रमशः पर्वता, धनुषाधाम, सतोखर, औरही र जनकपुरधामको रङ्गशाला मैदान पर्छन् । त्यस्तै मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा दोस्रो कल्याणेश्वर, तेस्रो फूलहर, १३औँ करुणा र १४औँ दिन बिसौल रात्रिबासको परम्परा छ । पूर्वसुरमा सदाशिव श्री कल्याणेश्वर, पश्चिममा श्री जलेश्वरनाथ, उत्तरमा श्री क्षिरेश्वरनाथ र दक्षिणमा सतोखरनाथले यात्रा अवधिभरि डोला र यात्रीको रखबारी गर्ने विश्वास गरिन्छ ।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा १५ दिनमात्र भए पनि सांसारिक मायाजालबाट पन्छेर अलौकिक यात्राको अवसरका रुपमा यात्री लिन्छन् । “घरपरिवारको बुहार्तन त जिन्दगीभरि झेल्नु छँदैछ नि १”, आज जलेश्वरमा भेटिनुभएका यात्री जिल्लाकै बनौलीका बासिन्दा घनश्याम मिश्रले भने, “घरमा छोराबुहारी नातिनातिना भरि छन् , हामी बूढाबूढी यसपाली यात्रामा निस्कियौँ ।”
डोलाको आगमनसँगै विश्रामस्थलमा भक्तालुले दर्शन गर्ने र भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार तथा आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्धमा अन्य विश्रामस्थलका झैँ जलेश्वरवासी अहिले दिलोज्यानले खटेका छन् । यो यात्रा दैहिक नभएर पारलौकिक हुने विश्वास गरिन्छ । नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको अधिवक्ता गुणबहादुर राउत बताउछन । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठले संयोजन, समन्वय गर्दै आएका छन् ।
मिथिलामा यात्रामार्गभित्रका जनजन यो महाकुम्भमा परिचालित देखिन्छन् । यात्रामा हुनेको त आफ्नो तालिका छँदैछ, यात्रामार्गका बस्तीबस्तीमा परिक्रमाको पर्खाइ हुन्छ । आज आफ्नो बस्ती हुँदै परिक्रमा आउँछ भन्ने भएपछि सबै डोला दर्शन र यात्रीको खातिरदारीमा सामथ्र्य लुकाउँदैनन् । कोही सर्वत खुवाउने, कोही खाजा खुवाउने र कोही बस्त्र फेराउने कार्यमा तल्लीन देखिन्छन् । आफैँ यात्रामा निस्कन नसक्नेले डोलाको दर्शन र यात्रीको सेवा गरेर पुण्य आर्जन हुने यहाँ जनविश्वास छ । “अहो भावले अतिथि सत्कारको त हाम्रो स्थापित परम्परा नै हो, अतिथि देवरुप हुने मैथिल विश्वास छ”, यात्रीको सेवा, सत्कारमा जुटेका जलेश्वर–१ का सुधीर साह भन्छन, “त्यसमा पनि अहिलेका अतिथि (यात्री) त विशिष्ट हुन् ।”
जुनसुकै विश्रामस्थलमा यात्रीको आवास, भोजन, स्वास्थ्योपचार, सुरक्षा र अन्य आवश्यकताबारे स्थानीय (विश्रामस्थल वरिपरिका बासिन्दा)ले स्वस्फुर्तरुपमैपनि चासो र भागिदारी लिने गरेका छन् ।