काठमाडौँ: काठमाडौँ महानगरपालिका–९ स्थित सिनामङ्गल क्षेत्रको वाग्मती पुलमुनि बाटो बन्द गरेर आवतजावत असहज बनाएकामा सफाइ अभियानकर्मीले भत्काइ दिएका छन् ।
स्थानीयस्तरमा सडक अवरुद्ध गरिँदासमेत स्थानीय सरकारले वास्ता नगरेकामा सफाइ अभियानकर्मीले ४४५औँ हप्ताको वाग्मती सफाइका क्रममा आज भत्काएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार अवरोध हटेर पुलमुनिको छोटो बाटोमा यात्रा गर्न पाउँदा यात्रु खुशी भएका छन् । पुल बनाउने दिवा निर्माण सेवाले बाटो बन्द गरी निर्माण सामग्री थुपारेर यात्रुलाई असहज अवस्था बनाएको जनाइएको छ ।
यसअघि तीनकुनेको पुुल बनाउँदा पनि पप्पु कन्स्टक्शनले पुलमुनिको बाटो बन्द गरी निर्माण सामग्री थुपारेकामा अभियानकर्मीले नै खुलाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए ।
वाग्मतीमा ४४५औँ हप्ताको सफाइका क्रममा पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नवनियुक्त आयोजना प्रमुख दिलीप भण्डारीलगायत अभियानकर्मीको सक्रियता थियो ।
विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिबार सफाइ अभियान जारी छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, विष्णुमती, चक्रपथ, ललितपुरको गोदावरी खोलालगायत क्षेत्रमा पनि सफाइ गरिएको छ ।
यी सबै स्थानमा महाअभियानबाट प्रभावित भएर सफाइ अभियान सुरु भएको हो । हाल उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ ।
उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिकस्थलमा पनि सफाइ भइरहेको छ । उपत्यका बाहिरसमेत १०९ भन्दा बढी स्थानमा सफाइ जारी रहेको जनाइएको छ । रासस