महोत्तरी : महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि किसानका लागि ओल नै नगद जोहोको सहारा बनेको हो ।
जिल्लाका सुदूरउत्तरवर्ती बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा व्यावसायिकरूपमै ओलखेती हुँदै आएको छ । ओल थोरै सिचाइँमा पनि हुने र अन्य तरकारी बालीभन्दा चोटिलो वर्षा खेप्नसक्ने भएको हुँदा किसानको रोजाइमा पर्ने गरेको छ । थोरै लगानी र कम मेहेनतमै अपेक्षित उत्पादन लिन सकिएपछि यसको व्यावसायिक खेतीतर्फ किसानमा आकर्षण बढेको हो । अहिले जिल्लाका बजारहरुमा नयाँ उत्पादित ओलको बजार जमेको छ । सिँचाइको स्थायी उपाय (सधैँभरि कुलो नहर लाग्ने) नभएको र माटो पनि दोरस (बालु माटो सराबरी) भएको हुँदा जिल्लाको उत्तरी क्षेत्रका किसान अन्नबालीभन्दा फलपूmल र तरकारी खेतीमा रम्ने गरेका देखिन्छ ।
तरकारी बालीमध्ये पनि अरुभन्दा घामपानी खप्नसक्ने र उत्पादन घरमै लामो समयसम्म भण्डारण गर्न सकिने भएको हुँदा ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो खेती भएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताए । “यसपालि कोभी, भाण्टा, खोर्सानी र रामतोरइका बोट तथा अरु लहरे तरकारीका बेला (लहरा) लगातारको वर्षाले पिटेर गलायो, ओलले भने जेनतेन वर्षा खेपेकाले धेरथोर नगदको मुख हेर्न पाइएको छ । पाखेबारीमा ड्याङमा रोपिने, बोट घामपानी खेप्न ज्याद्रो हुने र माटोमा फल्ने भएको हुँदा ओलचाहिँ अरु बालीजस्तो पानीले गलाउन सकेन ।
दशैँ, तिहार र छठपर्वको मुखमा नगद खर्चको मेसो ओलमै अडेको महतोको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्रका यी चार नगर क्षेत्र र सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिकाका बस्तीमा ओलखेती लगाइन्छ । प्रतिकठ्ठा १०÷१२ क्विन्टल उत्पादन हुने ओल खनेर निकालेपछि पनि महिनौँ नबिग्रने हुँदा फुर्सद र भाउ बुझेर बजार लान पाइने किसान बताउँछन् । जिल्लामा अहिले करिब २०० बिघा हाराहारी क्षेत्रफलमा ओलखेती रहेको स्थानीय कृषि अभिलेखबाट देखिन्छ । खासमा गौशाला र भङ्गाहा नगर क्षेत्रका धेरैजसो किसानले मुख्य खेती नै ओललाई बनाएका छन् । ओलखेतीबाटै आपूmले वर्षेनी रु पाँच लाख आम्दानी लिने गरेको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीका किसान अरुण कुशवाहा जानकारी दिए । “यो हाम्रो नगदको जोहोमात्र होइन, घरगुजाराको सबै थोक हो।।
चामल, पिठो, मरमसला सबै कुरा ओल बेचेर लिन्छौँ ।” माटोमुनि फल्ने स्वास्थ्यका दृष्टिकोणले अति नै लाभदायक र निकै स्वादिलो हुने ओल सामान्यतया सबैको रोजाइमा पर्ने तरकारी हो । ओलको तरकारीका साथै अचारको परिकार प्रसिद्ध छ । शीतभण्डारको सुविधा भए ओल वर्षभरि नै टिकाउन सकिने किसान बताउँछन् । प्र्रतिकट्ठा रु पाँच/सात हजार लगानीभित्र गर्न सकिने ओलखेतीबाट आम्दानी प्रतिकठ्ठा रु २५÷३० हजारसम्म लिन सकिने किसानको भनाइ छ । उन्नत जातको एउटै बोटमा आठदेखि १० किलोसम्मको एउटै ओल फल्ने गर्छ । बजारमा न्यूनतम रु ४० देखि ८० प्रतिकिलो सरदर नै बिक्री हुने गरेको भङ्गाहा–४ का किसान रामजी यादव बताए ।
नगरभरि नै ओलखेती हुने गरेकाले बर्दिबास, भङ्गाहा, गौशाला र औरहीका किसानले आफ्नो उत्पादन एकत्रित गरेर जलेश्वर, जनकपुर, मलङ्वासहितका नजिकका बजार र पूर्व मेचीबाट पश्चिम महाकालीसम्म उत्पादन पुग्ने गरेको भङ्गाहा–४ कै अर्का किसान सत्यनारायण यादवको भनाइ छ । आफ्नो क्षेत्रको ओल बीउका लागि कैलाली, कञ्चनपुरसम्म पुर्याइएको किसान यादवले बताए । प्रत्येक वर्ष चैत–वैशाखमा रोपिने ओल भदौै–असोजभरि खनेर निकालिन्छ ।
विषादि छर्किनु नपर्ने, हल्का सिँचाइमै गर्न सकिने र चार महिनाभित्रै उत्पादन लिन सकिने भएपछि ओल किसानबीच लोकप्रिय हुँदै गएको हो । अचेल विभिन्न कृषि कार्यालय, बीउबिजन केन्द्र र बीउ उत्पादकहरु आफ्ना स्थायी ग्राहक नै बनेका यहाँका किसानको भनाइ छ । किसानले प्रत्येक नगरमा शीतभण्डार भवनको चाँजो मिलाइदिन आ–आफ्ना नगर नेतृत्वसँग आग्रह गरेका छन् । रासस