१२ जेठ, खलंगा : कोभिड संक्रमण फैलिदो छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ । तर गाउँका किसानहरुले मार्सी धान रोप्न सूरु गरेका छन । जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँको सूरु भएको हो ।
जुम्लाको कृषि क्यालेन्डरअनुसार किसानहरुले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहीआएको स्थानीय जानकार रमानन्द आचार्यले बताए । उनका अनुसार स्थानीय कृषि क्यालेन्डर अनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ सुरु हुन्छ । ‘कोरोना संक्रमणको जोखिम भए पनि किसानलाई रोपाइ गर्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् ।’
जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ । स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम सुरु गरेको स्थानीय विष्णु आचार्यले बताइन् । उनका अनुसार अधिकांश गाउँका किसान ब्याडबाट बीउ निकाल्ने र रोपाइँ गर्ने काममा जुटेका छन् । ‘अहिले त बिहानैदेखि राति अबेरसम्म खेतमै व्यस्त बन्न थालेका छौं,’ उनले भनिन्, ‘समयमै नरोपे के खाने’ उनले गाउँमा रोगभन्दा भोकको पीर रहेको बताइन् ।
परम्परादेखि नै जेठको पहिलो सातादेखि मार्सी धानको रोपाइँ हुने गरेको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए । उनका अनुसार विक्रम सम्वत् ११९८ सालदेखि चन्दननाथ बाबा र लछालकृति पैकलाले कालिमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा चैत २० गते विशुव पर्व मनाउने चलन छ । ‘परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई ब्याडमा छर्ने, बीउ निकाल्ने र रोप्ने गरिरहेका छौं,’ उनले भने, ‘एकरदुई दिन भित्रै चन्दननाथ मन्दिरको पछाडिको सेरा डाबमा रोपाइँको गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार जुम्लाका अधिकांश खेतहरु ठूला हुने भएकाले एउटै खेतमा रोप्नको लागि न्यूनतम १० जना रोपार्नीहरु लगाउनुपर्ने बाध्यता छ ।
चन्दननाथ मन्दिरको खेत रोप्नको लागि स्वास्थ्यका मापदण्डहरु अपनाइने चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिका सचिव अंगत देवकोटाले बताए । ‘कोरोना संक्रमणको डर भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर रोपाइँ गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘चन्दननाथ बाबाले सुरु गरेको मार्सी धानको इतिहासलाई संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’
मार्सी धान खेतीको चक्र चैत महिनाको १२ गतेबाट सुरु हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चैतमा ब्याडमा राखिएको बीउलाई जेठको पहिलो साताबाट रोपिने कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । ‘धान रोप्न ढिलो भए ६ महिने धानको चक्र नै विग्रन्छ,’ उनले भने, ‘वैज्ञानिक हिसावले पनि किसानले रोपाइँलाई प्राथमिकता दिइरहेका छन् ।’
ग्रामीण क्षेत्रका किसान धान रोप्न व्यस्त भए पनि सदरमुकाम खलंगामा निषेधाज्ञा कडा पारिएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले औषधि पसल बाहेक सबै सेवा ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार विकास निर्माणका कार्यहरु पनि लामो समयदेखि बन्द छन् । ‘संक्रमणको चेन ब्रेक गर्न सबै सेवा ठप्प पारिएको हो,’ उनले भने, ‘संक्रमण थप बढ्न नदिन सबै निकायलाई सतर्क बनाइएको छ ।’