काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसि’ सार्वजनिक गरिएको छ । गीतमा गायिका समीक्षा अधिकारी र गायक–सर्जक प्रकाश सपुतको स्वर रहेको छ । शब्द र संगीत पनि स्वयं सपुतकै हुन् भने श्याम स्वेत रसाईलीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
मौलिक शैलीमा चिनिएका सपुतले यस गीतमार्फत आफ्नो संगीत यात्रामा नयाँ उचाइ थप्ने प्रयास गरेका छन् । मौसम हिमालीको कोरियोग्राफीमा तयार भिडियोमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काबीचको प्रेम र सम्बन्धलाई जीवन्त रूपमा देखाइएको छ । छायांकन पवन सुस्लिङ्गले गरेका हुन् ।
चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
दशैंको फूलपाती (असोज १३ गते) मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यको लगानीमा बनेको हो । छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । फिल्मका गीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत समावेश छ ।