काठमाडौं : आइतबार गायक प्रकाश सपूतले ‘पिर’ बोलको गीत ल्याए । जुन गीतले ‘जनयुद्ध’बारे नयाँ बहस सुरु गर्यो । जनयुद्धमा नेताहरु कस्ता थिए ? अहिले कस्ता छन् ? जनयुद्ध लड्नेहरुको अवस्था के छ ? उनीहरुले के पाए ? के पाएनन ? भन्ने विषयलाई गीतमा केलाइएको छ ।
‘पिर’ बोलको गीत सार्वजनिक भएपछि विरोध र समर्थन आइरहेको छ । माओवादीका केही नेता कार्यकर्ताले विरोध जनाइरहेका छन् भने केहीले समर्थन गरिरहेका छन् । गीतका ‘स्रोता’हरु दुई भागमा विभाजित छन् ।
यसै सन्दर्भः नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले गीतको विरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन् – ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु, माननीयहरु र टाठाबाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार, बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन । कतिपय प्रयत्नहरु सफल हुन सकेका छैनन । व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन् । तर, व्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिनेगरि प्रकाश सपूत जीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।’
यति मात्रै हो र ? अध्यक्ष पञ्चा सिंह युट्युबबाट गीत हटाउन प्रकाश सपुतलाई चेतावनी समेत दिएकी छन् । उनी भन्छिन् – ‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइ रहनुपर्ने हो ? जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ? तिनै दिदी–बहिनीहरुमाथि अपमान हुनेगरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’
ओहो ! हो तः जनयुद्ध के शरिर बेच्नको लागि थियो तः ? क्रमशः माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ लेख्छन् – ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून ! ‘पिर’को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् । त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ । उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न (अभाव, निराश अनि गरिबी महिलाहरूले ‘देह व्यापार’ नै गर्छन् हो ? सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र तीतहरुमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’
पञ्चा र दीपशिखाले मात्रै नभइ माओवादीका धेरैले विरोध जनाइरहेका छन् । विरोधको अभिव्यक्ति दिइरहेका छन् । सपुतको ‘पिर’ बोल गीतले माओवादी राजनीति र ‘जनयुद्ध’बारे नयाँ विज्ञ जन्माइसकेको छ ।
अर्थात ती सामाजिक सञ्जालका विज्ञलाई जनयुद्ध भनेको के हो ? घाइते परिवार कहाँ छन् ? कस्तो अवस्थामा छन् ? सहिद परिवारको अवस्था के छ ? जनयुद्ध लडेर के पाए ? के गुमाए ? भन्नेबारे कमै जानकारी होला । कसैलाई त त्यो पनि थाहा नभएको स्थिती छ । र, पनि माथिल्लो नेतृत्वले विरोध जनाएपछि उनीहरुको सर राख्न सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएर यस्तो चर्चा भने कमाइरहेको अवस्था छ ।
भन्छन् – ‘जनयुद्ध यस्तो थियो ! उस्तो थियो ! जनयुद्धले यस्तो ल्यायो ! उस्तो ल्यायो !’ एबीसी अभिव्यक्ति दिइरहेको अवस्था छ । त्यो उनीहरुको स्वतन्त्रता हो । त्यसमा हामीलाई कुनै आपत्ति छैन ।
यसैबीच जनयुद्धका नेतृत्वकर्ता डा. बाबुराम भट्टराईले सामाजिक सञ्चाल ट्वीट गर्दै भन्छन् – ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’, उनले थपेका छन्, ‘तथ्यबाट सत्य खोज’माक्र्सेली चिन्तन पद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु (महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारका निम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दै छन् ! तीतो सत्य स्वीकारौं समाधान खोजौँ प्रकाश सपुतलाई नसरापौं ।’
माओवादीले देशमा भएको व्यवस्था र जनताको अवस्था बदल्न नेपालमा सशस्त्र युद्ध सुरु गरेको २७ वर्ष पुरा भयो । नेपाली जनताले अझै बिर्सेका छैनन ती दश वर्ष ।
जुन, युद्धमा हजारौंले देशका निम्ति ज्यानको बलि मात्रै चढाएनन कैयौँलाई निती नेतृत्वमा पुर्याए । रतः उनीहरु अहिलेसम्म सत्ता र शक्तिमा छन् ।
सत्ता र शक्तिको ओतमा रहेकाहरु भन्छन् – ‘जनयुद्धकै कारण नेपाली राजनीतिको व्यवस्था बदलिएको हो । समाजमा रहेको उत्पीडितले न्याय पाएको हो । दलितले न्याय पाएका हुन् । समाजमा जातीय छुवाछुत अन्त्य भएको हो । महिलामाथि हुने विभेद अन्त्य भएको हो । समाज बदलिएको हो । जनयुद्धकै कारण यसरी समाज बदलिएको छ । तर, गायक प्रकाश सपूतले समाजका लागि यस्तो दृश्य देखाउन नराम्रो हो ।’
पञ्चा सिंह जस्ता नेताहरुको अभिव्यक्तिले नागरिकलाई मात्रै होइन जनयुद्धको कुशल लिडरलाई समेत उदेकलाग्यो । उनीहरुले यस्ता उदेकलाग्दा अभिव्यक्ति दिए पनि खुमलटारले यस्तो अभिव्यक्ति दियो भने लाजले पनि मुख छोप्नेछ । र, शिर उँधो पार्नेछ ।
किन ? पञ्चा सिंहकै गृहजिल्ला कालिकोटमा गणतन्त्रपछि दुईजना दलितको घरेलु हतियारले कुटिकुटी हत्या भयो । चुलो छोएकै निहुँमा मनवीरे सुनार र दलित भएकै कारण मना सार्कीलाई कुटिकुटी हत्या भएको हो । कालिकोटमा अहिले जनयुद्धका घाइते, सहिद परिवार छन् उनीहरुको अवस्था दयनीय छ ।
जनयुद्धमा जनवादी विहे गरेका कथित ‘उच्च जाति’ कहलाउने कमरेडहरुले दलितका छोरीहरुलाई बीचमै अलपत्र मात्रै पारेनन आफ्ना सन्तानलाई समेत स्वीकार नगरेको अवस्था छ । यसकाविरुद्ध पञ्चा सिंहका अभिव्यक्ति आएको खै ?
यो कालिकोटको मात्रै होइन सबैतिर छताछुल्ल छ । कुप्रथा, अन्धविश्वास र रूढीवाद कारण अधिकांश ठाउँहरुमा दलितका धारा–पधेरोहरु छुट्टै छन् । त्यो हालका राष्ट्रिय सभा सदस्य तथा जनयुद्धको बेला एक कमाण्ड सम्हालेका सुर्खेतका नरबहादुर बिष्ट गाउँमा गएपछि झन् देख्न पाइन्छ ।
पानी छोएको निहुँमा, मन्दिर प्रवेश गरेकै निहुँमा, प्रेम गरेकै निहुँमा दलितहरुलाई श्रृंखलावद्ध हत्या गरिएको छ । त्यो पनि माओवादीको आधार इलाका भएका जिल्लामा ।
उदाहरण अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुममा जाजरकोटका छ युवालाई होस् या कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा मना र मनवीरेको होस् । श्रृंखलावद्ध दलितको हत्या हुने गरेको छ ।
छुवाछुतको दर्द पोखिनसक्नु छ । दलितका छोरीहरुलाई माओवादीका कमरेडहरुले बलात्कारपछि हत्या गरेका कैयौँ छन् ।
पञ्चा सिंह लगायतका नेताको नजरमा छुवाछुत अन्त्य भएको यहीँ तः होला ? योभन्दा गतिलो प्रमाण चाहिँए दिउँला पनि । समाजमा महिला हिंसाको अवस्था पनि उस्तै छ ।
प्रकाश सपूतको ‘पीर’ बोलको गीतले माओवादी कुन विचारबाटोमा हिँडिरहेको छ र थियो ? छर्लङ्ग पारिदिएको छ । माओवादी राजनीतिको विचारबाटो भित्रको वास्तविकतालाई गीतमार्फत पस्केका प्रकाशलाई केही प्रचण्डभक्तका जयजयकारहरुले बहिष्कार गर्लान् तर समाजको वास्तविकता भनेको त्यहीँ हो । जुन ‘पीर’मा प्रस्तुत गरिएको छ ।
‘पिर’मा देखिएको ‘देह व्यापार’
‘पिर’ देखाइएको ‘देह व्यापार’ दृश्यले केही साथीहरुका प्रश्न छन् – यतिसम्मको दृश्य समाजलाई बाँड्न मिल्छ ? समाजले यसबाट के सिक्ने ? पक्कै पनि यस्ता खाल्का दृश्यले समाजलाई नकारात्मक असर पुग्छ ।
यो दृश्य मात्रै होइन ‘पिर’ कथामा प्रस्तुत गरिएको सबै दृश्यले समाज नकारात्मक दिशातर्फ जान्छ । परिर्वतनका लागि युद्ध गरियो । शरीरमा गोली छ । छोरी–श्रीमति भोको छन् । र, पनि मासु बचेर कमाएको अलिकति पैसाले ‘राज्य र क्रान्ति’ पुस्तक किनेर पढिरहेकै हुन्छ ।
सँगै युद्ध गरिरहेका साथीहरु कहाँ पुगिसकेका हुन्छन् । यस्ता दृश्यहरु पनि समाजमा देख्न नपाइयोस् भन्ने हो । तर, जनयुद्ध लडेका कयौैं कमरेडहरु आफ्नो दिनचर्या चलाउन ‘देह व्यापार’मा छन् । विदेशका बचिन बाध्य भएका छन् । जुन कुरा सामान्य नागरिकलाई मात्रै होइन जनयुद्धको एक नेतृत्वकर्ताले समेत बताइसके ।
उनीहरुलाई ‘देह’बाट कसरी मुक्त गर्ने ? उनीहरुको समस्यालाई समाधानको बाटोमा कसरी पुर्याउने ? भन्ने विषयमा केन्द्रित रहने कि समाजमा भएको वास्तविकता, जनयुद्ध लडेर प्राप्त गरेको पीडालाई बाहिर ल्याउँदा उसैमाथि प्रहार गर्ने ? यो जस्तो ढुङ्गे प्रवृत्ति अरु के हुनसक्छ ?
यसको प्रमाण यतिले मात्रै पुग्नेवाला छैन - ‘पिर’ देखाइएको ‘देह व्यापार’ जस्तै विद्या चापागाईंले सञ्चालन गरिरहेको ‘हेर्ने कथा’को नवौँ एपिसोड हेरौं । समाज कस्तो छ ? राज्य सत्ताको प्रवृत्ति कस्तो छ ? त्यसले पनि केही छर्लङ्ग पार्छ ।
हो ! जनयुद्ध नेपाली राजनीतिको एक इतिहास हो । नेपाली राजनीतिको इतिहास भन्दैमा सत्य कुरालाई दबाउन मिल्दैन ।रोल्पाको होलेरीबाट सुरु भएको ‘जनयुद्ध’मा सुख, शान्ति र समृद्धिको चर्का नारा उचालिएका थिए ।
जसकारण हजारौंले रगत चढाए । जनयुद्धमाथि हजारौंको सपना छ । सम्भावना छ । त्यति मात्रै होइन ज्यानको आहुति दिने र जीवनभर जनयुद्धको घाउ बोक्नेहरु पनि समाजमा छन् । जुन ‘पीर’ बोलको गीतले प्रस्ट पारिदिएको छ ।
इतिहासका पानाहरु पल्टाउने हो भने माओको विशाल आधुनिक र संसारकै शक्तिशाली चीनकै छेउमा बसेर माओवाद विचारधाराबाट प्रभावित भएर नेपालमा सशस्त्र युद्ध सुरु गरिएको थियो । परिणामतः आवश्यक व्यवस्था बदल्न जनयुद्धको भूमिका रह्यो । नेपालमा गणतन्त्र आयो ।
तर, पैसा र चाकडीको बलमा असली जनयुद्धका कार्यकर्तामाथि माओवादीको नेतृत्व पंक्तिले घात मात्रै गरेन सत्ता, स्वार्थ चाकडी गर्ने नेता मात्रै माओवादीमा रहनेस्थिती आयो ।
माओवादीले पनि पैँसाको बलमा राजनीति गर्न सुरु गर्यो । अनि, जनयुद्धको असली सिपाही र जनयुद्धमाथि माओवादी नेताले कुठाराघात गरेका हुन् ।
जुन दृश्य प्रकाश सपूतको ‘पिर’ मात्रै देखाएन माओवादी सत्य घटना देख्दा झस्किएको समेत छ । नेतृत्व पंक्तिले यसलाई सुधार र उद्धार गरेर बढ्न जरुरी छ ।
नत्र, एउटा सर्जकमाथि यसरी कुतर्फ तेर्साउन बन्द गरौं । समाजमा कायम भएको कुरीति, अन्धविश्वास, पितृसत्तात्मक सोच र चिन्तनका खाडलहरु पूर्न लागौं ।
त्यसैमा तपाईं-हाम्रो भलो छ । अहिलेसम्म ‘पिर’को युट्युबमा दुई मिलियन भन्दा बढी भ्युज गइसकेको छ भने ट्रेन्डिङ नम्बर एकमा छ ।