रामपुरः बनारसमा अध्ययन गर्ने क्रममा पाल्पाका लक्ष्मण खनाल र रामप्रसाद शर्मालगायतका व्यक्ति विसं २०२८ मा विश्वेश्वरप्रसाद कोइरालाको सम्पर्कमा आएपछि त्यसको प्रभाव पाल्पामा राम्रै रह्यो । त्यस समयमा बनारसमा बिपीको विचार र सिद्धान्तसँग सम्बन्धित कुरा सिकाइने हुँदा पनि त्यहाँबाट बिपीको विचारप्रति धेरैको झुकाव बढ्दै गयो ।
तत्कालीन समयमा बनारसमा लक्ष्मण खनाल प्रधान सम्पादक रहेको तरुण नामक पत्रिकामा नेपाली कांग्रेसका धारणा, विचारलाई समावेश गरेर प्रकाशन गरिन्थ्यो । त्यहाँबाट निस्केको पत्रिका नेपालमा ल्याएर भूमिगत रुपमा सबैले पढ्न थाले । सो पत्रिकालाई नेपाली कांग्रेस पार्टीको मुखपत्रका रुपमा लिइन्थ्यो । बनारसबाट आफ्नो अध्ययन सकेर पाल्पाको मोहनकन्या स्कुलमा बिपीको साहित्यिक कृति पढाउने क्रममा रामप्रसाद शर्मा गिरफ्तार भई जेल परे । तरुण पत्रिकाका प्रधान सम्पादक लक्ष्मण खनाल बनारसबाट पाल्पा आउने क्रममा गिरफ्तार भई जेल परे । जेलबाट निस्केपछि विसं २०२९÷०३० तिर पाल्पामा नेपाली कांग्रेसको भूमिगत रुपमा सङ्गठन बन्यो । पाल्पाको पहिलो सभापतिका रुपमा भगवतीध्वज राजवलबाट सभापति बने ।
तत्कालीन समयमा भगवतिध्वजको नेतृत्वमा रामप्रसाद आत्रेय, ठाकुरचन्द्र बिप्र, प्रकाशलाल श्रेष्ठलगायत केही सीमित व्यक्तिलाई मात्रै समावेश गरी भूमिगत कार्यसमितिमा समावेश बनाएर सङगठन अगाडि बढ्यो । विसं २०३४ मा वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री तत्कालीन नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति शेरबहादुर देउवा पाल्पा आउँदा उहाँले बिपीको विचार र सिद्धान्त विस्तार गरे । सोही समय कृष्ण नेपालको सभापतित्वमा नेबी सङ्घ पाल्पा गठन भयो ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट ०३५ मा विद्यार्थी आन्दोलन सुरु भयो । राजनप्रसाद पन्त, कृष्ण नेपाल, चन्द्रबहादुर केसी, विद्यार्थी आन्दोलनका अगुवा थिए । बहुदलीय व्यवस्थाको लागि समिति गठन भई पार्टी विस्तार हुदै गयो । जिल्लामा बहुदलीय व्यवस्थाको प्रभाव राम्रो रहेको हुनाले प्रशासनले त्यसलाई निषेध गर्न तत्कालीन सभापति भगवतिध्वज राजलवट, ठाकुरचन्द्र बिप्र, राजप्रसाद पन्त, कृष्ण नेपाल, चन्द्रबहादुर केसी, नारायण कोइरालालगायतका व्यक्ति गिरफ्तारीमा पर्नुभयो । छ महिनापछि भैरहवा कारागारबाट जेलमुक्त भएपछि बहुदलको प्रचारप्रसारमा सक्रिय भएर लागे ।
बहुदलीय संयन्त्र निर्माण गरेपछि कांग्रेसको नेतृत्वमा बहुदलीय व्यवस्थाले नेतृत्व लिने अवसर पायो । देशव्यापी रुपमा गणना गर्दा बहुदल पक्षले हार बेहोर्नुपर्यो । त्यस समय २४ लाख पञ्चायत र २० लाख बहुदलको पक्षमा थिए । जनमतको परिणाम धाँधलीपूर्ण रहेको भन्दै सो परिणामलाई स्वीकार गर्ने कि नगर्ने सम्बन्धमा बिपी कोइराला २०३७ मा पाल्पा आए ।
बिपीले देशव्यापी रुपमा कार्यकर्ताको राय लिएर जनमत सङ्ग्रहको परिणाम स्वीकार गर्ने तर पञ्चायतमा सहभागी नहुने निर्णय गरे । २०३७ मा वर्गीय सङ्गठनका सदस्यता लिएकाले मात्रै पञ्चायतको चुनावमा भाग लिन पाउने व्यवस्था रहेकोमा कांग्रेसले देशव्यापी रुपमा बहिस्कार गर्यो । पञ्चायत विरुद्धको आन्दोलन सुस्तगतिमा अगाडि बढ्यो । विसं २०४२ मा कांग्रेसले देशव्यापी रुपमा सत्याग्रह घोषणा गर्यो । यसको पनि पाल्पामा राम्रै प्रभाव रह्यो । यहाँका ४२ जना सत्याग्रही गिरफ्तारीमा परे । मुलुकमा विसं २०४६ मा बहुदल आएपश्चात् पाल्पामा कांग्रेसको सङ्गठन झन् बलियो बन्दै गयो । २०४८ सालको आम निर्वाचनमा पाल्पाका तीनवटै क्षेत्रमा कांग्रेसको नेतृत्व रह्यो ।
त्यस निर्वाचनमा पाल्पा क्षेत्र नं १ मा कालुराम राना, क्षेत्र नं २ मा गम्भीरजङग कार्की र ३ मा हरिप्रसाद नेपालले विजयी हासिल गर्नुभयो । त्यसपछि पार्टी नेतृत्वको फेरबदल हुँदै सशक्त रुपमा कांग्रेस अगाडि बढ्यो । तोकिएको समयमा महाधिवेशन नहुनु, पटकपटक मिति सर्दै जाँदा पार्टीभित्र विभिन्न गुटगत राजनीति मौलाउन थालेको भन्दै यस पटक तोकिएकै समयमा महाधिवेशन गरी आफ्नो नेतृत्व चयन गर्न पाल्पाका नेता कार्यकर्ताका सुझाव छ । पाल्पामा भदौ २१ गतेबाट वडा तहको अधिवेशन शुरु हुदैछ ।