काठमाडौँ : ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ।’ कवि भूपी शेरचनका कविताका यी हरफ नेपाली राजनीतिमा व्यवस्था परिवर्तनको मूल सिद्धान्त बन्दै आएका छन् ।
हिजो राणाशासन फाल्दा होस वा प्रजातन्त्र ल्याउँदा । रगतकै खोलो बगाएरै इतिहास फेरिएको हो । संख्या तलमाथि होला । त्यसपछि २०४६ सालमा पन्चायत फाल्दा होस वा २०५२ सालमा गणतन्त्रका लागि जनयुद्ध थाल्दा नै । दुई चार सपूत मात्रै होइन, हजारौको रगत बग्यो ।
२०६२ ६३ को दोस्रो जनआन्दोलनमा पनि १९ जनाको ज्यान गएपछि नेपालमा लोकतन्त्र स्थापना भएको इतिहास छ । यी सबै परिवर्तनमा कही न केही दुई चार जनाले सहिदको सूचीमा नाम लेखाउनुपरेको छ ।
कुनै झुपडीका मानिसहरु सहिद हुँदा अर्को कुनै झुपडीका मान्छेहरु रातारात नेता कहलिए । उनीहरु देशका परिवर्तनका संवाहक बने । जनताका सारथी र भरोसाका केन्द्र बने । हिजो चप्पल लगाएर काठमाडौँमा छिरेकाहरु आज महलै महलमा बस्ने भए । नेपाली राजनीतिको कूरुप पाटो अहिले पनि ज्युँका त्यूँ छ ।
सधै आँटो र फाँटोको सकसमा रहेका कर्णालीबासीहरुले परिवर्तनका नारा पाएपछि जनयुद्धमा होमिएका थिए । जनयुद्धको नेतृत्व प्रचण्डले गरेपनि यसलाई सफल पार्ने नेतृत्व कर्णालीकै नेताहरुले लिएका थिए ।
जनयुद्धमा धेरैले बलिदान दिए । त्यो भन्दा बढी घाइते भए । अहिले पनि धेरैजसो अंगभंग छन् । जनताको रगतकै बलिदानमा देशमा लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयता आएको हो । तर यो संघीयतामा अहिले पनि गरीब गरीब नै छन् । धनी झन झन् धनी हुँदै गएका छन् ।
अनि झुपडीमा बसेका धेरैलाई लाउने खाने चिन्ता छ । तर नेताहरु महलमा पुगेकाले उनीहरुलाई खाने लाउने चिन्ता छैन ।
हिजो गरीबकै झुपडीमा उठेका महेन्द्रबहादुर शाही अहिले मुख्यमन्त्री छन् । जनार्दन शर्मा, शक्ति बस्नेत वर्षमान पुन पनि केन्द्रीय राजनीतिमा व्यस्त छन् । तर उनीहरुले अहिलेसम्म यसलाई व्यवहारमा लागू गर्न सकेका छैनन ।
नेताहरुले देशमा परिवर्तनको नारा ल्याए । व्यवहारमै व्यवस्था पनि बदले । तर त्यो जनताको दैनिकीमा खासै परिवर्तन आउन सकेन । व्यवस्था परिवर्तन गर्न सफल नेताहरुले अब जनताको दैनिकी पनि फेर्न सक्ने गरी नयाँ योजनासहित काम गर्न जरुरी छ ।