काठमाडौं : जाजरकोट पुगेपछि रामकुमारी झाँक्रीले गर्जिएर भनिन्, ‘कर्णालीका सभामुख राजबहादुर शाही ओली कम्पनीका सदस्य हुन् ।’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावमा पराजित गर्ने चुनौति दिने रामकुमारीले जाजरकोटमा कर्णालीका सभामुखलाई वाण हानिन् ।
कर्णालीको फ्लोर क्रस घटनाबाट चर्किएको एमालेको आन्तरिक संघर्ष पार्टी विभाजनसम्म पुगेको तथ्य रामकुमारीले सम्झिनु स्वभाविक हो । तर उनले त्यसका खास जिम्मेवार नेता यामलाल कँडेललाई होइन, सभामुख राजबहादुर शाहीमाथि संगीन आरोप लगाइन् । एकाएक सभामुखमाथि रामकुमारी खनिनु स्वयंम रामकुमारीका लागि पनि शोभनीय विषय हो ।
संवैधानिक रुपमा सभामुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, राष्ट्रपति पदमा आसिन व्यक्तिबारे टिप्पणी गर्दा पनि कुटनैतिक शैलीबाट गर्नु सिर्जनात्मक हुन्छ । तर सोझै गर्जनका साथ गाली मात्रै गर्नु स्वयंम उनीमाथि भरोसा गरेका नेता कार्यकर्ताका लागि पनि प्रश्न उब्जिनु हो ।
त्यति मात्रै होइन, स्वयंम रामकुमारी र प्रकाश ज्वाला यतिबेला ओलीलाई गाली गर्नैमै पूरा समय ब्यतित गरिरहेका छन् । इतिहासमा सबैभन्दा धेरै बहुमत ल्याएर सरकार चलाउने अवसरलाई एमाले फुटमा टुंग्याएका नेताहरुले एक अर्कालाई गाली गर्नैमा समय खर्चिदा केही सम्भावना र नयाँ आशा देखेका युवाहरु निराश हुन सक्छन् । त्यसप्रति एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादीका नेताहरुले त्यति हेक्का राखेको देखिदैन ।
सुर्खेतमा मोहन बडुवाल जस्ता युवा बौद्धिक नेताहरु माधव नेपालको साथमा उभिएर पार्टी विस्तारमा लागिरहदा सपना, योजना र नयाँ शिराबाट कम्युनिष्ट आन्दोलन अगाडि बढाउने सोचिरहेका छन् । कम्तीमा सत्ता र पदका लागि मुर्खता गर्ने ओलीभन्दा सच्चा, त्यादी र सहयोगी नेताका रुपमा उनीहरुले माधव नेपाललाई अभिभावक मानेका छन् ।
सोमबार मात्रै एक कार्यक्रममा माधव नेपालले ओलीबारे टिप्पणी गर्नु उचित नभएको बताइसकेका छन् । पार्टी नै छाडेर नयाँ शिराबाट अगाडि बढेका बेला अरुमाथि अब टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।
धेरैपछि उनले यो सोचेर भनेका हुन् । तर सुरुवाती दिनमा माधव नेपालले सबैभन्दा धेरै ओलीलाई गाली गरे । त्यसपछि रामकुमारी झाँक्री र प्रकाश ज्वाला लगायतका नेताहरु थिए । अहिले पनि माधव नेपाल बाहेकका नेताहरु दैनिक ओलीलाई गाली गर्नैमा समय ब्यतित गरिरहेका छन् । यसबाट नयाँ पुस्ताले के सिक्छ ? गाली र आरोप प्रत्यारोप मात्रै कि अरु पनि राजनीतिक विचारधारालाई पछ्याउँछ ? प्रश्न उठ्न सक्छ ।
तर पछिल्लो समयको सत्य, नेपालमा झुट बोल्ने र सत्ताका लागि सबथोक गर्ने तर सत्तामा पुगेपछि जनता बिर्सने पार्टीका रुपमा कम्युनिष्ट नेतालाई बुझ्न थालिएको छ । तर एमालेमा बसेका नेता र एमालेबाट छुट्टिएर नेकपा समाजवादीमा लागेका नेता कार्यकर्ताको सोच भने फरक छ ।
सपना, योजना र सम्भावना बाड्ने कहिले ?
कर्णालीमा केही समय ढुलमुलमा परेका एमालेका नेता कार्यकर्ता पछिल्लो समय कित्तामा प्रष्ट रुपमा उभिएर लागेका छन् । धेरैजसो एमालेमै बसेका छन् भने केही नेकपा समाजवादीमा लगेका छन् । धु्रव शाही लगायत लामो समय माधव नेपाललाई साथ दिएका नेता पनि अन्त्यमा फुटको विपक्षमा उभिएर मूल पार्टीमा बसे ।
विश्वास गरेका नेता पनि एमालेमै बसेपछि माधव नेपाल देशब्यापी संगठन बनाउन लागि परेका छन् । अहिले सानै पार्टी भएपनि भोलिका दिनमा एमालेभन्दा ठूूलो पाटी बनाउने दाबी माधव नेपाल पक्षका नेताहरुको छ ।
उसो त कर्णालीमा गोपाल बम, पार्वती विशंखे, राजबहादुर बुढा लगायतका नेताहरु पनि माधव नेपाल पक्षमा छन् । तर जिल्लादेखि केन्द्रसम्मका नेताहरु सबैभन्दा गरीब कर्णाली प्रदेशको विकास, सपना, योजना र नयाँ सम्भावना बाड्ने भन्दा जनतालाई गाली सुनाउने मात्रै कहिलेसम्म ?
नेपालमा फुटेका अधिकांश पार्टी विसर्जनतिर गएको तितो तथ्यका बावजुद पार्टी फुटाएर नयाँ शिराको राजनीति थालेका माधव नेपाल पक्षका नेताहरुको अहिलेकै शैलीले स्वयंम उनीहरुलाई घातक बनााउनेछ । किनकी नेपालमा पार्टीको विरोध होइन, आफ्नो पार्टी र कामको औचित्य खोजिरहेका छन् ।
त्यसमाथि आगामी चुनावमा माधव नेपालले उठाउने खास एजेन्डा के हो ? अहिलेकै स्थिती र शैलीमा उसले जनताको मन जित्छ की अहिलेकै राजनीतिबाट दिक्क जनतालाई थप चिढ्याउँछ । प्रश्न टड्कारो छ ।