कर्णाली : कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ । माओवादी, कांग्रेस र एमालेको माधव नेपाल पक्ष सरकारमा छ । उनीहरुका सांसद मन्त्री भएका छन् । नेताहरुको कुर्सी केन्द्रित राजनीति स्वार्थमा परिणत भएकै छ ।
तर कर्णालीका जनताको अवस्था बदलिएको छैन । कोरोना महामारीमा धेरैले अकालमै ज्यान गुमाइरहेका छन् । ठीक यस्तो बेला मुख्यमन्त्री र मन्त्री भने हेलिकोप्टरमा उडिरहेका छन् । यो विगतको दृष्टान्त हो । कर्णालीका अधिकांश मन्त्रीहरु हेलिकोप्टर लिएर आफ्नो जिल्ला जान्थे आउँथे ।
अहिले मन्त्री भएका धेरैले हेलिकोप्टर चढिसकेका छैनन । मन्त्रीकै हैसियतमा उनीहरुले हेलिकोप्टर चढ्न बाँँकी छ । तर विगतको प्रवृत्तिले झस्काउँछ । विगतकै प्रवृत्तिमा टेकेर आज हामी कर्णाली प्रदेश सरकारको प्रवृत्तिगत समस्याका बारेमा चर्चा गर्दैछौँ ।
जहाँ जनताको जीउ ज्यान जोगाउनेभन्दा नेता र मन्त्रीहरु आफ्नो स्वार्थमा केन्द्रित भएका छन् । जसकारण जनताले कसरी ज्यान गुमाइरहेका छन् ? पहुँचवालाका लागि मात्रै कर्णाली प्रदेश सरकारले कसरी निर्णय गरेर कार्यान्वयन गर्छ ? भन्नेमा केही दृष्टान्त हेरौँ । जसका लागि हुम्लाको सर्केगाड गाउँपालिकाको तथ्यपरक महामारीको घटना ताजै छ ।
पहुँचवालाको सेवामा हाजिर छ, सरकार
हुम्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक बिरामी परे । उनलाई कोभिड देखियो । कोभिडपछि उनलाई श्वास प्रश्वासमा समेत समस्या भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई त्यसपछि लगत्तै उपचारका लागि बाहिर लैजान हेलिकप्टर मगाइयो । यो जेठ लाग्ने बेलाकै कुरा हो ।
उनको हुम्लामा उपचार नहुँने भएपछि हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगियो । रानीवनको आइसोलेशन वार्डमा तीन दिनदेखि बस्दै आएका उनलाई जटिल भएपछि हेलिकोप्टर मगाएर उद्धार गरिएको थियो ।
अक्सिजनको मात्रा ४० मा झरेपछि जिल्ला बाहिर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको थियो । त्यो पहल गर्ने अरु होइन, गाउँपालिका अध्यक्ष थिए । जसको सिधा कर्णाली प्रदेश सरकारसँग समन्वय थियो ।
साढे ९ लाख भाडा पर्ने उनले तुरुन्तै मगाएर आफ्ना स्वास्थ्य संयोजकलाई उनले जुम्ला पुर्याए । हेलिकोप्टरको भाडा तिर्न स्वयंम धामीले पनि आफ्नो पैसा खर्च गरेका थिए । उनी जुम्ला पुगेर अक्सिजनसहितको वार्डमा बसे । उनले कोरोना जिते । आफ्नै संसारमा फर्किए ।
तर गरीबलाई छैन उपचार
जेठको तेस्रो हप्तामा सर्केगाड गाउँपालिकाका एक गरीब र दलित गाउँलेको ज्यान गयो । बुधबार नै सर्केगाँड २ रिप गाउँका ५७ वर्षीय टोप्ले विश्वकर्मालाई कोभिड पुष्टि भएको थियो ।
त्यसको भोलिपल्टै उनको ज्यान गयो । कारण समयमै उपचार नपाएर । त्यो भन्दा ठूलो कारण, उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पटक पटक उद्धारका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग याचना गरिएको थियो ।
तर सुनेनन् । समस्या हुनेवित्तिकै उनका छोराहरु भीम र जसबहादुर विश्वर्काले गाउँपालिकालाई खबर गरेका थिए । तर गाउँपालिकाले बेवास्ता गर्दा उनको उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भयो ।
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लिन हिडाइएको थियो । सुरुमा स्ट्रेचर र पछि घोडामा हिडाइएको थियो ।
अस्पताल लैजान बिहीबार बिहान दुई जना छोराहरुले घोडामा चढाएर दुल्ली कुना पुर्याएका थिए । त्यही उनको ज्यान गयो । बुवाको मृत्युपछि छोरा जसबहादुरले भने, हेलिकप्टरबाट उद्धार गरेर थप उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो । तर हामी गरीब र दलित भएकै कारण उपचार र उद्धार पाउन सकेनौँ ।
भोकमरीपछि महामारीले गाँजेको कर्णाली कथा
कर्णाली प्रदेशमा अहिले सबै जिल्लामा कोडिभ संक्रमित बिरामी छन् । केहीको हेलिकप्टरबाट उद्धार भइरहेको छ । केही दिनको फरकमा यस्ता समाचार पनि आउने गरेका छन् । अनि दैनिक दर्जन हाराहारीमा संक्रमितको ज्यान पनि गइरहेको छ ।
हेलिकप्टरबाट उद्धार पाउने गरीब र दलित होइनन् । जो हेलिकप्टरबाट उद्धार पाउँछन् । तर समाचार पनि छाउँछन् । तर गरीबले न उद्धार पाउँछन् । न त उनीहरुबारे समाचार नै आउँछ । कर्णाली यसै कर्णाली भएको होइन ।
यस्तै अभाव, विभेद र समस्याले कर्णालीको परिचय गरीबीमै रहेको हो । जसका लागि बेला बेला कर्णाली प्रदेश सरकारले महत्वांकाक्षी निर्णय गर्छ । तर कार्यान्वयनमा चुक्छ । अनि जति पनि निर्णय गरिन्छन् । ती गरीब र दलितका लागि भनेर गरिन्छ । तर फाइदा भने पहुँचवाला र धनीले नै लिन्छन् ।
हुम्लाको सर्केगाडमा बिहीबार ज्यान गुमाएका विश्वकर्मा एक दलित हुन् । जोसँग उपचार गर्ने पैसा थिएन । उनले कसरी उद्धार पाउनु रु कर्णाली प्रदेश सरकारको प्रवक्तामा सीता नेपाली छिन् । जो आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् ।
तर उनलाई हुम्लामा उपचार नपाएर एक दलित संक्रमितको ज्यान गयो भन्ने जानकारी पनि छैन । यसबारे उनको निर्णय, थप अग्रसरता र पीडितलाई राहतको कुरा त धेरै परको विषय हो । हुम्ला पूर्वमन्त्री दलबहादुर रावलको जिल्ला हो ।
उनी सामाजिक विकास मन्त्री हुँदा थुप्रैपटक हुम्लामा हेलिकोप्टर लिएर गएका छन् । तर एक गरीब र दलितको उपचार र ज्यान बचाउनेबारे उनी बेखबर छन् । यो हुम्लाको मात्रै कथा होइन, सारा कर्णालीकै व्यथा हो ।
मुख्यमन्त्री र मन्त्री हेलिकोप्टरमा उड्छन, जनता कोरोनाले अकालमै मर्छन
कर्णालीमा प्राय आफ्नो जिल्ला जाँदा मुख्यमन्त्री र मन्त्रीहरु हेलिकोप्टर प्रयोग गर्छन । हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पा जाँदा प्राय मन्त्री र मुख्यमन्त्री सँधै हेलिकोप्टरको प्रयोग गर्छन् । उनीहरुका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हुन्छ ।
तर हुम्ला, जुम्ला, कालिकोट लगायतका ठाउँमा जनता भने कोरोनाले अकालमै मरिरहेका छ्न । अहिलेसम्म सरकारमा रहेका मन्त्रीलाई यसबारेमा हेक्का छैन् । उनीहरुले यसबारेमा ख्याल नै गरेका छैनन् । मात्रै केही स्वार्थ र गठजोड अनि आफन्त र कोही पहुँचवालाको उपचारमा मात्रै अग्रसरता देखाउँछन् ।
यसले कर्णालीका सबै मन्त्री र मुख्यमन्त्री स्वार्थ केन्द्रित हुँदै गएका छन् । उनीहरुले जनताको समस्या भुलेका छन् । मन्त्रिपरिषदले पूर्णता पाउँदा उनीहरु अब नयाँ नयाँ योजना र बजेटबाट कसरी आफ्नो दुनो सोझ्याउने भनेर सोचिरहेका छन् ।
तर जनताको आधारभूत माग र आवश्यकतालाई बेवास्ता गरिरहेका छन् । यसले चौतर्फी समस्या निम्त्याइरहेको छ । तर नेता र मन्त्रीहरु भने आफ्नो जिम्मेवारी भुलिरहेका छन् । केही समयअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट पुगे । उनी सिर्फ आफ्ना केही नातेदार र आफन्त भेटेर आए ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्लामा बैठक बोलाए । तर कोरोना बिरामी, उनीहरुका आफन्त र उनीहरुले भोगिरहेको आर्थिक समस्या समाधानतर्फ एक नजर पनि लगाएनन् । उनी हरेक पटक जिल्ला जान्छन् । आफ्नो मतदाता पनि राम्रोसँग भेट्दैनन् ।
आफ्नो स्वार्थकेन्द्रित काम गरेर फर्किने गरेका छन् । उनलाई बढीमा बढी आफ्नो जिल्लाको मात्रै चिन्ता छ । आफ्नो निर्वाचन क्षेत्रको चिन्ता छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको कुर्सीमा बसेर उनी कालिकोट मात्रै आफ्नो ठान्छन् ।
बाँकी कर्णालीको उनको चाँसो र चिन्तामा छैन् । जिम्मेवारी त अहिले पार्टीको स्वार्थअनुसार चल्छ । यसले गर्दा कर्णालीमा हुनेखाने र पहुँच भएकालाई मात्रै हेलिकोप्टरले उद्धार गर्छ । सोझा र सर्वसाधारण जनता भने बाटोमै कोरोनाले उपचार नपाएर ज्यान गुमाउनु बाध्य छन् । तर यसको हेक्का अहिलेसम्म सरकारले राखेको छैन ।
कर्णालीमा झण्डै २४ लाख दलितको बसोबास छ । धेरै ठाउँमा जातीय विभेद ज्यूँका त्युँ छ । तर कर्णालीको गृहमन्त्रीमा आसिन सीता नेपालीका आगामी नयाँ योजना र उनीहरुका समस्या समाधान गर्ने कुनै गतिलो उपाय छैन ।
उनी मन्त्री भएपछि धेरैले आश, भरोसा गरेका छन् । दलितको अवस्था पनि सरकारले सुन्छ भन्ने आश र विश्वास छ । तर हुम्लामा दलित व्यक्ति कोरोनाले मर्दा उनले फोन सम्पर्क समेत गर्ने प्रयास गरिनन् । यसले देखाउँछ । उनी पदमा पुगेपछि जनता भन्दा बढी आफ्नो चिन्ता गर्न थालेकी छिन् ।
अरु मन्त्रीको हविगत पनि यस्ता यस्तै छ । जो जनताको नाममा राजनीति त गरिरहेका छन् । तर आफ्नो र पार्टीको स्वार्थ केन्द्रित काममा मात्रै केन्द्रित देखिन्छन् । जसले गर्दा कर्णालीका धेरै जनता आक्रोशित र निराश छन् ।
(समाचार आशयअनुसार फोटो परिमार्जन गरिएको छ - सम्पादक)