११ मंसिर, एजेन्सी । विश्व फूटबलका जिलेन्ड डिएगो म्यारोडोनाको निधन भएको छ । अर्जेन्टिनाका पूर्व कप्तान तथा विश्वकप विजेता म्यारोडोनाको ६० वर्षको उमेरमा हृद्यघातका कारण निधन भएको हो ।
दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३–२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।
त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए । त्यहिँ विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । त्यसमा पनि उनले गरेको पहिलो गोल हातले फल गरेर गरेका थिए ।
जसलाई रेफ्रीले नदेख्दा त्यो घटना अहिलेसम्मकै चर्चित छ । हातले गरेको गोललाई ह्याण्ड अफ गड भनेर चिनिएपनि उनलाई विश्व फुटबलको महानता र विवादसँग जोडेर हेर्ने गरिन्छ । उनले क्लब फुटबलमा बार्सिलोना, नापोली र सेभियाबाट खेलेका थिए ।
फुटबलको शुरुवात भने उनले बोका जुनियर्सबाट गरेका थिए ।